इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो, जुलाईको अनुमानभन्दा २५ प्रतिशतले वृद्धि

इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो, जुलाईको अनुमानभन्दा २५ प्रतिशतले वृद्धि

एजेन्सी : इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब अमेरिकी डलर नाघेको विवरण सार्वजनिक भएको छ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को पछिल्लो अनुमानबारे जानकारी प्राप्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। यो खर्च गत जुलाईमा रक्षा मन्त्रालयले सार्वजनिक गरेको अनुमानभन्दा २५ प्रतिशतभन्दा बढी हो।

जुलाईमा रक्षा मन्त्री पिट हेगसेथले ३७.५ अर्ब डलर खर्च हुने अनुमान गरेका थिए। पेन्टागनले हालसम्म यो विवरण सार्वजनिक रूपमा खुलाएको छैन र यस विषयमा कुनै आधिकारिक टिप्पणी पनि गरेको छैन।

रोयटर्सले प्राप्त गरेको तथ्यांक अनुसार युद्धका क्रममा प्रयोग भइसकेका हतियार तथा गोलाबारुद पुनः भण्डारण गर्न मात्रै २९ अर्ब डलरभन्दा बढी खर्च हुनेछ। त्यसैगरी, युद्धका क्रममा नष्ट भएका विमान, ठूलो संख्याका ड्रोन र अन्य सैन्य उपकरणहरूको प्रतिस्थापनका लागि ६ अर्ब डलरभन्दा बढी रकम आवश्यक पर्ने अनुमान गरिएको छ। हवाई उडान र साइबर सहयोग जस्ता विभिन्न सञ्चालन खर्चहरू समावेश गरिए तापनि इरानी मिसाइल र ड्रोन आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य बेसहरूको मर्मतसम्भारमा हुने ठूलो खर्च भने यस तथ्याङ्कमा अझै स्पष्ट रूपमा जोडिएको छैन।

नोभेम्बर ३ मा हुन गइरहेको अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा युद्धको यो बढ्दो खर्च सार्वजनिक भएपछि सत्तासीन रिपब्लिकन पार्टी ठूलो राजनीतिक दबाबमा परेको छ। युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर खस्किएको छ भने कंग्रेसमा झिनो बहुमत रहेको रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई चुनावी चुनौती थपिएको छ।

गत फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले इजरायलसँग मिलेर इरानविरुद्ध यो युद्ध सुरु गर्दा युद्ध छोटो समयमै सकिने दाबी गरेका थिए।

अमेरिकाले सुरुमा महँगा र सटीक मिसाइल प्रहार गरेर इरानको रक्षा प्रणाली ध्वस्त पार्ने र पछि सस्ता बमहरू प्रयोग गर्ने रणनीति रहे पनि अप्रिलको युद्धविरामले इरानलाई आफ्ना भूमिगत भण्डारहरूबाट मिसाइल तथा ड्रोन प्रणाली पुनः सक्रिय बनाउने मौका दियो। त्यसक्रममा पहिले पहुँचबाहिर रहेका केही इरानी प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन पुनः सञ्चालनमा ल्याइएको बताइएको छ।

हाल अमेरिकाले इरानको तेल राजस्व रोक्न समुद्री नाकाबन्दी लगाएको छ भने चुनावपछि पुनः भारी सैन्य कारबाही सुरु गर्ने तयारी गरिरहेको छ।

कात्तिक ११, २०८३ बुधबार १२:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।