चाडबाडले ह्वात्तै बढायो आयात; एकै महिनामा भित्रियो २ खर्ब ४५ अर्बको सामान, निर्यात ५७ प्रतिशतले वृद्धि

चाडबाडले ह्वात्तै बढायो आयात; एकै महिनामा भित्रियो २ खर्ब ४५ अर्बको सामान, निर्यात ५७ प्रतिशतले वृद्धि

काठमाडौं : भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा आयात ३८.१८ र निर्यात ५७.०३ प्रतिशतले बढेको छ। बाढी पहिरोका कारण मुख्य राजमार्गमा आवागमन प्रभावित हुँनुका साथै चीनसँगका दुई नाका बन्द हुँदा पनि आयात निर्यात उल्लेख्य रुपमा बढेको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आव २०८२/८३ को सोही अवधिमा ७२ अर्ब ७८ करोड बराबर वस्तु निर्यात भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा ५७.०३ प्रतिशत बढी हो।

त्यसमध्ये करिब ३८ अर्बको निर्यात असोजमा भएको हो। पोहोर साउनदेखि असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो।

यस्तै, असोजमा २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ। साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड र भदौमा २ खर्ब १४ अर्ब ७ करोड रुपैयाँको वस्तु भित्रिएको थियो।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। पोहोर पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोडको वस्तु भित्रिएको थियो।  

सबैभन्दा धेरै मूल्यको आयात हुने वस्तुमा कच्चा भटमास तेल रहेको छ। तीन महिनामा ५० अर्ब रुपैयाँ भन्दा बढीको कच्चा भटमास तेल भित्रिएको छ। कच्चा भटमास तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट ल्याइएको हो।

यस्तै, ४७ अर्ब ३१ करोडको २ लाख ८८ हजार किलोलिटर डिजल, २४ अर्ब ६२ करोडको १ लाख ८१ हजार किलोलिटर पेट्रोल, २३ अर्ब १८ करोडको १७ करोड १९ लाख ८४ हजार किलो एलपी ग्यास आयात भएको छ।

आयात र निर्यात दुवैमा उच्च वृद्धि हुँदा यस वर्ष पहिलो तीन महिनामै कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबर पुगेको छ। गत आव असोजसम्म ५ खर्ब ४० अर्ब बराबर मात्र वैदेशिक व्यापारको आकार थियो ।

यस्तै, असोजसम्म ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो। गत आव पहिलो त्रैमासमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ बराबर थियो।

कात्तिक ११, २०८३ बुधबार १६:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।