‘गोल्डेन ओक’लाई कीर्तिपुर नगरपालिकाको अनुमति, ‘प्रोब्याब्ली’ जाँच्न नगर प्रहरी परिचालन

‘गोल्डेन ओक’लाई कीर्तिपुर नगरपालिकाको अनुमति, ‘प्रोब्याब्ली’ जाँच्न नगर प्रहरी परिचालन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा मदिराको छद्म (सरोगेट) विज्ञापन भएको विषयमा उकेराले लगातार समाचार प्रकाशित गरेपछि कीर्तिपुर नगरपालिकाले ‘गोल्डेन ओक’ले पानीका नाममा विज्ञापनको आधिकारिक स्वीकृति लिएको स्पष्ट पारेको छ।

यसअघि उकेरासँगको कुराकानीमा मदिराजन्य कम्पनीलाई कुनै अनुमति नदिइएको बताएको नगरपालिकाले अध्ययनपछि ‘गोल्डेन ओक वाटर’को नाममा विज्ञापन अनुमति दिइएको पुष्टि गरेको हो।

त्यस्तै, जर्सी र मैदानमा देखिएको बियर ब्रान्ड कार्ल्सबर्गको छद्म लोगो ‘प्रोबब्ली’लगायत अन्य विज्ञापनहरूको वैधानिकता परीक्षण गर्न र अनुमति नलिएका विज्ञापनहरू तत्काल हटाउन नगरपालिकाले नगर प्रहरीको टोली परिचालन गरेको छ।

‘गोल्डेन ओक’ले पानीका नाममा लियो अनुमति, पालिका भन्छ- ‘कानुनी छिद्रको फाइदा उठाए’
उकेरासँग कुरा गर्दै कीर्तिपुर नगरपालिकाका प्रवक्ता दीवाकर अधिकारीले कागजात अध्ययन गर्दा गोल्डेन ओकले ‘पिउने पानी’ का रूपमा विज्ञापनको स्वीकृति लिएको पाइएको जानकारी दिए।

“मैले कार्यालयमा थप बुझ्दा गोल्डेन ओकले पानीकै लागि भनेर स्वीकृति लिएको देखियो,” प्रवक्ता अधिकारीले उकेरासँग भने, “उनीहरूको उत्पादनमा पानी पनि रहेछ। मदिराको विज्ञापन गर्न नपाइने भएपछि पानीको दर्ता गरेर ‘गोल्डेन ओक’ प्रचार गर्दा पानीसँगै मदिराको पनि स्वतः प्रचार हुने लाभ उनीहरूले उठाएका छन्। कानुनी रूपमा दर्ता सूचीमा भने उनीहरूले पानी नै उल्लेख गरेका छन्।”

उकेराले यसअघि नै गोल्डेन ओक ह्वीस्की उत्पादन गर्ने कम्पनी हिमालयन डिस्टिलरीले बजारमा कतै नभेटिने ‘पानी’ को आवरण खडा गरेर एनपीएलको बाउन्ड्री लाइनमा ह्वीस्कीकै ब्रान्डिङ गरिरहेको तथ्य उजागर गरेको थियो।

‘प्रोब्याब्ली’ र अन्य विज्ञापन जाँच्न त्रिवि मैदानमा नगर प्रहरी
एनपीएलका दुई टोली पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सको जर्सी र मैदानमा प्रयोग भएको कार्ल्सबर्ग बियरको सरोगेट रूप ‘Probably’को बारे भने नगरपालिकाले नगर प्रहरी परिचालन गरी सूक्ष्म अनुगमन थालेको छ।

प्रवक्ता अधिकारीका अनुसार नगरपालिकाबाट कुन-कुन कम्पनीले विज्ञापनको अनुमति लिएका छन् भन्ने आधिकारिक सूचीसहित नगर प्रहरीको टोलीलाई त्रिवि क्रिकेट मैदानमा खटाइएको छ।

“गोल्डेन ओकबाहेक अन्य विज्ञापन र प्रोब्याब्लीको विषयमा बुझ्न मैले नगर प्रहरीलाई निर्देशन गरिसकेको छु,” प्रवक्ता अधिकारीले भने, “नगर प्रहरीको टोली दर्ता सूची बोकेरै मैदानमा पुगेको छ। त्यहाँ कुन-कुन विज्ञापन दर्ता भएका छन् र कुन-कुन भएका छैनन् भनेर हेरिनेछ। नगरपालिकाको अनुमतिबिना राखिएका जति पनि अनाधिकृत विज्ञापन छन्, ती सबैलाई हामी तुरुन्त हटाउन लगाउँछौँ।”

जिम्मेवारी पन्छाउने खेलपछि मैदानमै पुग्यो स्थानीय सरकार
यसअघि विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष सन्तोष श्रेष्ठले जर्सी र मैदानमा हुने प्रचार ‘मास मिडिया’ अन्तर्गत नपर्ने भन्दै यसलाई नियन्त्रण गर्ने सम्पूर्ण क्षेत्राधिकार स्थानीय तहकै भएको दाबी गरेका थिए।

विज्ञापन बोर्ड कारबाहीबाट पन्छिएपछि स्थानीय सरकारका रूपमा त्रिवि क्रिकेट मैदान रहेको कीर्तिपुर नगरपालिकाले आफ्नै अग्रसरतामा नगर प्रहरीलाई मैदानमा उतारेको हो।

नेपालको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ४ र २४ ले स्थानीय तहभित्र सार्वजनिक रूपमा राखिने होर्डिङ बोर्ड तथा प्रचार सामग्रीको नियमन, अनुमति र जरिवाना गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ। सोही कानुनी अधिकार प्रयोग गर्दै नगरपालिकाले मैदानभित्रका विज्ञापनहरूको वैधानिकता परीक्षण सुरु गरेको हो।

सर्वोच्च अदालतको परमादेश र जनस्वास्थ्य सेवा ऐनले मदिराजन्य पदार्थको कुनै पनि माध्यमबाट प्रचार गर्न पूर्ण रोक लगाएको अवस्थामा, नगर प्रहरीको यो अनुगमनले खेलकुदको आवरणमा मदिराको छद्म प्रचार गर्नेहरूमाथि कस्तो एक्सन लिन्छ भन्ने चासो बढेको छ।

कात्तिक ११, २०८३ बुधबार ११:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।