वाल्भर्डेसँगको विवादबारे चुआमेनीको खुलासा : हात हालाहाल भएको थिएन, मिडियाले बढाइचढाइ गर्‍यो

वाल्भर्डेसँगको विवादबारे चुआमेनीको खुलासा : हात हालाहाल भएको थिएन, मिडियाले बढाइचढाइ गर्‍यो

एजेन्सी : रियाल मड्रिडका फ्रान्सेली मिडफिल्डर अरेलियन चुआमेनीले गत सिजन आफ्ना सहकर्मी फेडेरिको वाल्भर्डेसँग भएको भनिएको कुटाकुटको घटनाबारे मुख खोलेका छन्।

उनले ड्रेसिङ रुममा केही अप्रिय घटना भए पनि सञ्चारमाध्यममा आएजस्तो आफूहरूबीच हात हालाहाल वा मुक्कामुक्की भने नभएको प्रस्ट पारेका छन्।

‘द ब्रिज’ नामक कार्यक्रममा बोल्दै चुआमेनीले क्लबभित्रको सामान्य विषयलाई मिडियाले अनावश्यक रूपमा ठूलो बनाएको दाबी गरे।

“मानिसहरू बाहिर धेरै कुरा गर्छन्, तर म र वाल्भर्डेबीच कुनै कुटाकुट भएको थिएन,” चुआमेनीले भने, “ड्रेसिङ रुममा कहिलेकाहीँ भनाभन हुनु सामान्य कुरा हो। अप्रत्यक्ष रूपमा केही कुराहरू भए होलान्, तर हामी हात हालाहालको स्थितिमा पुगेका थिएनौँ। हो, केही नराम्रो कुरा अवश्य भएको थियो। तर, रियाल मड्रिडजस्तो क्लबमा भएकाले सानो कुरा पनि निकै ठूलो बनेर मिडियामा आयो।”

के थियो घटना ?
गत सिजन (२०२५-२६) को अन्तिम सातातिर ड्रेसिङ रुममा भएको विवादका क्रममा उरुग्वेका मिडफिल्डर वाल्भर्डेको टाउकोमा चोट लागेर अस्पताल भर्ना हुनुपरेको र टाँका लगाउनुपरेको खबर सार्वजनिक भएको थियो। सोही चोटका कारण उनले तीन खेल गुमाउनुपरेको थियो।

उक्त घटनापछि रियाल मड्रिडले दुवै खेलाडीलाई जनही ५ लाख युरो (करिब ७ करोड रुपैयाँ) जरिवाना तिराएको थियो। त्यसपछि समर ट्रान्सफर विन्डोमा यी दुईमध्ये एक खेलाडीले क्लब छाड्ने व्यापक अड्कलबाजी चलेको थियो।

तनावका बाबजुद दुवै खेलाडी क्लबमै रहे। रियाल मड्रिडका नयाँ प्रशिक्षक जोसे माउरिन्होले पनि आफू आउँदा नै दुवै खेलाडीबीचको सम्बन्ध सामान्य भइसकेको बताएका थिए।

चुआमेनीले पनि उक्त घटनापछि वाल्भर्डेसँगको सम्बन्ध झनै सुमधुर बनेको बताए।

“अहिले ड्रेसिङ रुममा वाल्भर्डे र मबीच कुनै समस्या छैन। मैदानभित्र र बाहिर हामी सामान्य छौँ,” उनले भने, “कहिलेकाहीँ यस्ता अप्रिय घटनाले मानिसहरूलाई एक-अर्कासँग अझ नजिक ल्याइदिन्छ।”

आइतबार ‘एल क्लासिको’ भिडन्त
व्यक्तिगत सम्बन्ध सुध्रिए पनि नयाँ प्रशिक्षक माउरिन्होको नेतृत्वमा यी दुईलाई सँगै मिडफिल्डमा खेलाउँदा भने टोलीले सोचेजस्तो लय समात्न सकेको छैन।

पछिल्ला खेलहरूमा माउरिन्होले वाल्भर्डेलाई राइट–ब्याक र चुआमेनीलाई मिडफिल्डमा खेलाएर सन्तुलन मिलाउने प्रयास गरिरहेका छन्।

दुवै खेलाडी आइतबार हुने यस सिजनको पहिलो ‘एल क्लासिको’ मा क्याम्प नाउमा बार्सिलोनाविरुद्ध सुरुवाती रोजाइमा खेल्ने सम्भावना छ।

ला-लिगाको उपाधि होड कायमै राख्न मड्रिडका लागि यो खेल निकै महत्त्वपूर्ण छ; पराजित भएमा रियाल शीर्ष स्थानको बार्सिलोनाभन्दा ९ अंकले पछि पर्नेछ।

कात्तिक ७, २०८३ शनिबार १२:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।