देशका अधिकांश भू-भागमा मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशका अधिकांश भू-भागमा मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी केही दिन उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ। देशका बाँकी हिमाली तथा पहाडी भू-भागको मौसम सफा रहनेछ। साथै, देशका तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै सोमबार दिउँसो पनि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। सोमबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने तथा तराई, उपत्यका र खोँचहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्ने क्रम कायमै रहने महाशाखाले जनाएको छ।

यसैगरी मंगलबार र बुधबार देशभर आंशिक बादल लाग्ने सम्भावना छ। उक्त दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाको आंकलन रहेको छ। नियमित रूपमा मौसमी सूचना तथा पूर्वानुमानबारे जानकारी लिइरहन अनुरोध गरिएको छ।

कात्तिक ८, २०८३ आइतबार ०७:२८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।