बाढीले पुल बगाएको स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण कार्य तीव्र

बाढीले पुल बगाएको स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण कार्य तीव्र
फाइल तस्बिर

रसुवा : गत भदौ १० गते गएको भोटेकोशी बाढीले पक्की पुल बगाएको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ। जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बाढी बगाएपछि अहिले त्यहाँ सवारी साधन आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण गर्न लागिएको हो। 

बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण सुरु भइसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती  नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ। सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको जनाइएको छ।

यसैगरी, बाढीका  कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी-ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल/सामग्री) उपलब्ध गराएको छ। सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ। 

कात्तिक ८, २०८३ आइतबार ०७:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।