पर्सामा घुमुवा बनेर तस्कर र सर्वसाधारणसँग रकम असुली गर्ने 'नक्कली प्रहरी' पक्राउ

पर्सामा घुमुवा बनेर तस्कर र सर्वसाधारणसँग रकम असुली गर्ने 'नक्कली प्रहरी' पक्राउ

वीरगञ्ज : पर्साको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नक्कली 'घुमुवा' बनेर अवैध रकम असुली गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी अशोक वर्णवाल रहेका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ। अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ।

प्रायः मास्क लगाएर हिँड्ने उनले भारतबाट घरायसी सामान ल्याउने सर्वसाधारणलाई समेत सामान पक्राउ गराइदिने धम्की दिएर असुली गर्ने गरेको गुनासो प्रहरीमा परेको थियो।

प्रहरीका अनुसार वर्णवाल विगतमा आफैँ तस्करीमा संलग्न थिए। पछि सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा चिनिएका उनले सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) देखि गण र बाहिनी तहसम्म आफ्ना माथिल्लो अधिकारीहरूसँग निकट सम्बन्ध रहेको भन्दै सर्वसाधारणलाई प्रभावमा पार्ने गरेका थिए।

पक्राउ परेका वर्णवाललाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धान भइरहेको छ। यस्तै, उनको सहयोगीको रूपमा काम गरेको आशङ्कामा सोही ठाउँका दीपक यादवलाई पनि नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ७, २०८३ शनिबार १६:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।