पूर्व-पश्चिम राजमार्गमा दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र. ०१-०३० च ८४९६ नम्बरको कार एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका-५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा बिहान १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
काठमाडौंतर्फ आउँदै गरेको कारका चालक डोटीको साविक मुदेगाउँ गाविस-७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था भने सामान्य रहेको छ।
यसैगरी दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको कारमा रहेका दाङको घोराही उपमहानगरपालिका-७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। घाइते तीनै जनाको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
उक्त कारका चालक घोराही उपमहानगरपालिका-७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको र उनलाई इलाका प्रहरी कार्यालय कुसुम बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको राजमार्ग बिहान सवा १० बजेदेखि सञ्चालनमा आएको छ।
कात्तिक ७, २०८३ शनिबार १४:२०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।