धरानमा दशैंमा २६ करोड बढीको खसीबोका कारोबार
सुनसरी : बडादशैंका अवसरमा धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ।
मासुको माग बढेका कारण गत वर्षको तुलनामा यसपालि कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्षको दसैँमा यहाँबाट २३ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको थियो।
साताको बिहीबार र शुक्रबार लाग्ने यस बजारमा कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम तथा तराईका इटहरी, कानेपोखरी र बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेच गर्न आउने गर्छन्।
यहाँ खरिद-बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको छ।
कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा परिचित यस बजारले पहाडी भेगका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत टेवा पुर्याएको व्यवस्थापक भट्टराईले जानकारी दिए।
कात्तिक ५, २०८३ बिहीबार १९:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।