डिजिटल अरेस्ट र सेक्सटर्सनमा प्रयोग हुने ‘ई-सिम बक्स’ सञ्जाल ध्वस्त, करोडौँ ठगी भएको आशंका

डिजिटल अरेस्ट र सेक्सटर्सनमा प्रयोग हुने ‘ई-सिम बक्स’ सञ्जाल ध्वस्त, करोडौँ ठगी भएको आशंका

एजेन्सी : भारतको कर्नाटक राज्य प्रहरीको साइबर कमान्ड युनिटले ‘डिजिटल अरेस्ट’, ‘सेक्सटर्सन’ वित्तीय ठगीमा प्रयोग हुँदै आएको एउटा ठूलो अवैध ‘ई-सिम बक्स’ सञ्जालको पर्दाफास गरेको छ।

प्रहरीका अनुसार यो सञ्जाल बेङ्गलोरको ह्वाइटफिल्डस्थित दुईवटा अपार्टमेन्टबाट गोप्य रूपमा सञ्चालन भइरहेको थियो। छापा मार्ने क्रममा त्यहाँ १० वटा सिम बक्स डिभाइस फेला परेका छन्।

प्रत्येक डिभाइसमा ३२ वटा सिम कार्ड राख्न मिल्ने स्लट रहेकाले एकैपटक ३२० वटा ई-सिम सञ्चालन गर्न सकिने क्षमता थियो। भारतमा साइबर ठगहरूले यस्तो अत्याधुनिक ई-सिम प्रविधि प्रयोग गरेको भेटिएको यो पहिलो घटना हो।

कर्नाटक साइबर कमान्डका महानिर्देशक (डीजीपी) प्रणव मोहन्तीका अनुसार यो सञ्जालमार्फत भएको आर्थिक ठगी अर्बौं रुपैयाँसम्म पुग्न सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसबाट पीडित भएकाहरूको यकिन सङ्ख्या र ठगीको वास्तविक आकार पत्ता लगाउन अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी थप अनुसन्धान भइरहेको उनले बताए।

गत अगस्ट २६ मा निजी टेलिकम कम्पनी ‘भारती एयरटेल’ले ह्वाइटफिल्ड र काडुगोडी क्षेत्रमा सिम बक्सभित्र एयरटेलका सिम कार्डहरूको अनधिकृत प्रयोग भइरहेको भन्दै प्रहरीमा औपचारिक उजुरी दिएको थियो। त्यसै उजुरीका आधारमा सूक्ष्म निगरानी गर्दा यो गिरोह पत्ता लागेको हो।

यस अवैध धन्दामा संलग्न मुख्य सञ्चालकहरूको कुल सङ्ख्या सार्वजनिक नगरिए पनि प्रहरीले महाराष्ट्रको तिरोडाबाट चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि भौतिक सिम कार्डहरू जुटाउने, तिनलाई ई-सिम प्रोफाइलमा बदल्ने र ठगी गिरोहसम्म पुर्याउने गरेको आरोप छ।

प्रहरीले यस घटनामा प्रयोग भएका सिमहरूको सप्लाई चेन र देशभर फैलिएका डिजिटल अरेस्ट तथा अनलाइन ठगीका घटनाहरूबीचको सम्बन्धबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

कात्तिक ५, २०८३ बिहीबार २०:३९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।