सर्लाहीमा भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर

सर्लाहीमा भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा यात्रुवाहक भ्यान र साबुन बनाउने केमिकल बोकेको ट्रक एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-००२ ख १३२४ नम्बरको ट्रक शनिबार एकापसमा ठोक्किएका हुन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बाराको सुवर्ण गाउँपालिका-४ का ३७ वर्षीय रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै घाइतेहरू चालक बाराको महागढीमाई नगरपालिका-६ का कामेश्वर सहनी, सुवर्ण गाउँपालिका- ४ का भवन राम र कलैया उपमहानगरपालिका-२६ का उमेश रामको अवस्था मध्यम रहेको छ।

त्यस्तै प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका- ९ का राजेन्द्र राम, सुवर्ण गाउँपालिका- ४ का राजदेव राम, विनोद राम, रुदल राम, हरिहर राम, कलैया उपमहानगरपालिका- २६ का नन्दन राम, पचरौता नगरपालिका- ७ का रामसन्देय राम, सिम्रौनगढ गाउँपालिका-४  का नवलकिशोर रामको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका-४ क्याम्पसचोकका विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ।

दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने प्रयास भइरहेको र राजमार्गमा सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ। 

कात्तिक ७, २०८३ शनिबार १७:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।