बेलायतको बार्कलेजले ५ हजार कर्मचारी हटाउने, भारतमा ठूलो असर
एजेन्सी : ब्रिटिस बहुराष्ट्रिय बैंकिङ समूह बार्कलेजले आफ्नो कार्यप्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्वचालन (अटोमेसन) को प्रयोग बढाउँदै विश्वभरबाट करिब ५ हजार कर्मचारी कटौती गर्ने भएको छ।
यो संख्या बैंकको कुल जनशक्तिको झण्डै ५ प्रतिशत हो।
बैंकले पहिलो चरणमा १ हजार पद खारेज गरिसकेको छ भने बाँकी ४ हजार पद चालू वर्षको अन्त्यसम्ममा हटाइसक्ने जनाएको छ।
बेलायतका लागि आवश्यक पर्ने अधिकांश ‘ब्याक-अफिस’ र प्राविधिक सहयोगसम्बन्धी काम भारतबाट हुने भएकाले यो कटौतीको ठूलो असर भारतमा कार्यरत जनशक्तिमा पर्ने देखिएको छ।
बार्कलेजका अनुसार यो कटौती बैंकको तीन वर्षे खर्च कटौती तथा आधुनिकीकरण योजनाअन्तर्गत गरिएको हो। कटौती हुने पदहरूमध्ये करिब ६० प्रतिशत सपोर्ट फंक्सन तथा सफ्टवेयर डेभलपर रहने छन्।
बैंकले मुख्यतया बेलायतस्थित आफ्नो रिटेल बैंकिङ कारोबारलाई पुनर्संरचना गरिरहे पनि यसको प्रभाव इन्भेस्टमेन्ट बैंकिङमा समेत परेको छ।
यसैबीच, बार्कलेजले सेप्टेम्बरमा सकिएको त्रैमासिक अवधिमा २ अर्ब ३० करोड पाउन्ड (लगभग ३ अर्ब अमेरिकी डलर) नाफा कमाएको सार्वजनिक गरेको छ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा बढी भए पनि विश्लेषकहरूको प्रारम्भिक अनुमानभन्दा केही कम हो।
कात्तिक ५, २०८३ बिहीबार २०:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।