सलमान खानलाई ‘फिल्म उद्योगको एकमात्र टाइगर’ भनेपछि टाइगर श्रफमाथि आक्रमण गरिएको प्रहरीको आशंका

सलमान खानलाई ‘फिल्म उद्योगको एकमात्र टाइगर’ भनेपछि टाइगर श्रफमाथि आक्रमण गरिएको प्रहरीको आशंका

एजेन्सी : अभिनेता सलमान खानको प्रशंसा गरेकै कारण बलिउड अभिनेता टाइगर श्रफमाथि लरेन्स बिश्नोई गिरोहले गोली प्रहार गरेको खुलेको छ। पक्राउ परेका आरोपीले अनुसन्धानका क्रममा उक्त कुरा बताएका हुन्।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, एक आरोपितले सन् २०२२ मा टाइगर श्रफले अभिनेता सलमान खानको प्रशंसा गरेको विषयलाई आक्रमणको सम्भावित कारणका रूपमा उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार, टाइगरले एक चलचित्रको प्रचार कार्यक्रमका क्रममा सलमान खानलाई ‘फिल्म उद्योगको एकमात्र टाइगर’ भनेका थिए। यही अभिव्यक्तिका कारण लरेन्स बिश्नोई गिरोहले टाइगरलाई निशाना बनाएको हुन सक्ने अनुसन्धानकर्ताहरूको आशंका छ। यद्यपि, उक्त अभिव्यक्ति नै आक्रमणको निश्चित कारण भएको पुष्टि भइसकेको भने छैन।

सन् १९९९ मा 'हम साथ साथ हैं' को सुटिङका क्रममा सलमान खानमाथि लागेको कालो हरिण (ब्ल्याकबक) शिकारको आरोपपछि बिश्नोई समुदाय उनीसँग आक्रोशित रहँदै आएको छ। कालो हरिणलाई बिश्नोई समुदायले पवित्र मान्ने भएकाले उक्त घटनापछि सलमानमाथि माफी माग्न दबाब दिइएको र उनलाई पटक–पटक धम्की दिइएको बताइन्छ।

टाइगर श्रफमाथिको आक्रमणमा उनको सलमानसम्बन्धी अभिव्यक्तिको भूमिका कति थियो भन्ने विषयमा अनुसन्धान जारी छ।

फुटबल खेलेर फर्किने क्रममा गोली प्रहार
गत अक्टोबर १८ मा मुम्बईको जुहुस्थित एक खेलमैदानबाट फुटबल खेलेर फर्किने क्रममा टाइगर श्रफको बीएमडब्ल्यू कारमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका दुई आक्रमणकारीले कारतर्फ सात राउन्ड गोली चलाएर फरार भएका थिए।

घटनामा अभिनेता श्रफका चालक र एक जना पैदलयात्री घाइते भएका थिए। त्यसपछि लरेन्स बिश्नोई गिरोहका एक सदस्यले आक्रमणको जिम्मेवारी लिएका थिए।

घटनाको भोलिपल्ट प्रहरीले सुरतबाट जयपुरतर्फ गइरहेको रेलमा सवार तीन जना मुख्य आरोपितलाई राजस्थानको कोटा रेलवे स्टेसनबाट पक्राउ गरेको थियो।

आक्रमणको घटनापछि अभिनेता टाइगर श्राफ निकै त्रसित र स्तब्ध बनेका छन्। प्रहरीसँगको प्रारम्भिक कुराकानीमा उनले आफ्नो कसैसँग दुश्मनी नरहेको र आक्रमणको कारणबारे आफू अनभिज्ञ रहेको बताएका छन्। मानसिक रूपमा विचलित भएका कारण प्रहरीले हालसम्म उनको आधिकारिक बयान भने दर्ता गरिसकेको छैन।

कात्तिक ७, २०८३ शनिबार १४:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।