इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, यसै साता हमला हुनसक्ने अमेरिकी राजदूतको दाबी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रम सीमित गर्ने कूटनीतिक सम्झौता नगरेमा फेरि अर्को सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका छन्।
शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता नभए अमेरिकाले फेरि 'अपरेसन एपिक फ्युरी' जस्तो सैन्य अभियान सञ्चालन गर्न सक्ने सङ्केत दिएका हुन्।
"हामी फेरि अर्को सानो एपिक फ्युरी गर्न सक्छौँ, वा उनीहरू सम्झौतामा आउनेछन्," ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै भने। उनले इरानलाई वार्तामा आउन आग्रह गर्दै सम्झौता नगरे सैन्य विकल्प खुला रहने संकेतसमेत दिएका छन्।
इरानी नेतृत्वप्रति टिप्पणी गर्दै उनले थपे, "यदि उनीहरू चतुर छन् भने वार्तामा आउनेछन्, तर मलाई लाग्दैन कि उनीहरू त्यसो गर्नेछन्।"
यसअघि फेब्रुअरी महिनामा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि 'अपरेशन एपिक फ्युरी' नामक सैन्य कारबाही गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको थियो।
विगतका सैन्य कदमहरूको चर्चा गर्दै ट्रम्पले 'अपरेशन मिडनाइट ह्यामर' मार्फत इरानको आणविक संवर्द्धन क्षमता नष्ट पारिसकिएको दाबीसमेत गरे।
यसै साताको अन्तमा आक्रमण आक्रमण हुन सक्ने
ट्रम्पको यो भनाइ आउनुअघि सिरियाका लागि अमेरिकी प्रतिनिधि तथा टर्कीका लागि अमेरिकी राजदूत टम ब्याराकले इरानमाथि शीघ्र नयाँ सैन्य आक्रमण हुनसक्ने बताएका थिए। खाडी क्षेत्रको भ्रमणका क्रममा पोडकास्ट प्रस्तोता मारियो नवाफलसँगको अन्तर्वार्तामा उनले यस्तो सम्भावना व्यक्त गरेका हुन्।
पोडकास्ट अन्तर्वार्तामा बोल्दै राजदूत ब्याराकले भने, "के यो साताको अन्तमा आक्रमण हुनसक्छ? निश्चित रूपमा हुनसक्छ।" तर, उनले राष्ट्रपति ट्रम्प अझै पनि कूटनीतिक समाधानका लागि खुला रहेको र अमेरिका महिनौँदेखि वार्ताको टेबलमा बसिरहेको स्पष्ट पारे।
राजदूतको बयानबारे ट्रम्पको प्रतिक्रिया
राजदूत ब्याराकको अभिव्यक्तिबारे पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने यसबारे आफूलाई जानकारी नभहेको बताए।
पत्रकारले टर्कीका लागि अमेरिकी राजदूतले यसै सप्ताहन्तमा इरानमाथि आक्रमण हुन सक्ने बताएको उल्लेख गर्दै आगामी मध्यावधि निर्वाचनपछि मात्रै कारबाही गर्ने अडान परिवर्तन भएको हो कि भनेर प्रश्न गरेका थिए।
जवाफमा ट्रम्पले भने, "उहाँ मेरो राजदूत हुनुहुन्थ्यो? उहाँ निकै शक्तिशाली व्यक्ति हुनुहुँदो रहेछ। यदि त्यसो हो भने, मलाई यस योजनाबारे केही थाहा छैन।"
अमेरिकामा नोभेम्बरको पहिलो साता हुन गइरहेको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा वासिङ्टन र तेहरानबीच तनाव बढेको छ।
इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने विषयमा सम्झौता गर्न अमेरिकाले दबाब दिइरहेको छ। ट्रम्पको पछिल्लो चेतावनी र अमेरिकी राजदूतको भनाइले सैन्य कारबाहीको सम्भावनालाई पुनः चर्चामा ल्याएको छ।
कात्तिक ७, २०८३ शनिबार १२:५४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।