चिसो बढेपछि हिमाली चरन क्षेत्रबाट बेँसी सारिँदै म्याग्दीका पशुगोठ
म्याग्दी : चिसो बढ्दै गएपछि म्याग्दीका किसानहरूले हिमाली क्षेत्रको बुकीबाट आफ्ना पशुगोठ बेँसीतर्फ झार्न थालेका छन्।
बर्खायाममा पोषिलो घाँसको खोजीमा हिमाली क्षेत्रमा पुर्याइएका गाईभैँसी, गोरु र भेँडाबाख्राका गोठहरू अहिले गाउँ नजिकैका खर्क र पाखाबारीमा ल्याउन थालिएको छ।
धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए। विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका विकका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ।
महिनाौँसम्म हिमाली चरन क्षेत्रमा बिताएका गोठालाहरू पशुचौपायाका साथ बन्दोबस्तीका सामान बोकेर गाउँ फर्किएपछि स्थानीय बस्तीहरूमा चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए।
हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए। गोठालाहरूले ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका खर्कहरूमा ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपालले छाएका अस्थायी गोठ बनाएर पशु पाल्ने गर्छन्।
म्याग्दीका धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका किसानहरूले पुस्तौँदेखि यसरी नै घुम्ती गोठ राखेर परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। बेँसीका खेतबारीमा घुम्ती गोठ राख्दा जमिन मलिलो हुने भएकाले यसको प्राङ्गारिक महत्त्व रहेको स्थानियले बताए।
तर, पछिल्लो समय युवा पुस्ताको बेवास्ता र वैदेशिक रोजगारीप्रतिको आकर्षणका कारण हिमाली क्षेत्रमा गरिने यो परम्परागत घुम्ती पशुपालन व्यवसाय भने बिस्तारै सङ्कटमा पर्न थालेकोमा स्थानीय किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
कात्तिक ७, २०८३ शनिबार १४:१९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।