आँखैअघि सिनियरको प्राण गयो अनि झस्किए डा. पारस- ‘मेरो पनि यही हालत हुने हो कि!’

आँखैअघि सिनियरको प्राण गयो अनि झस्किए डा. पारस- ‘मेरो पनि यही हालत हुने हो कि!’
तस्वीरहरू सबै डा. पारसबाट प्राप्त।

डा. पारस पाण्डे ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ विशेषज्ञ हुन्। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर शल्यक्रियापश्चात् सकुशल ब्युँझाउनु उनको दैनिकी हो।

बिरामीको दुखाइ कम गराउनेतर्फ पनि उनी उत्तिकै खटिन्छन्। तर, कोरोना महामारीका बेला बाँकेस्थित भेरी अस्पतालमा खटिँदा भोगेका कहालीलाग्दा क्षणहरू भने उनको मानसपटलमा अझै ताजै छन्।

चिकित्सकीय पेसाका सिलसिलामा देखे-भोगेका तिनै अविस्मरणीय अनुभव डा. पारसले उकेरासँग साटेका छन्:

कोरोनाको त्यो कहालीलाग्दो समय
चिकित्सकीय जीवनमा कहिलेकाहीँ यस्ता घटनाहरू आइपर्छन्, जसलाई भुल्न निकै मुस्किल पर्छ। डा. पारसका लागि पनि भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारमा बिताएका दिनहरू त्यस्तै बने।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २०१८ मा ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ विषयमा एमडी उत्तीर्ण गरेपछि डा. पारस सरकारी छात्रवृत्ति करार सेवाका लागि भेरी अस्पताल पुगेका थिए।

त्यहाँ काम सुरु गरेको करिब एक वर्षपछि, सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को चपेटामा नेपाल पनि पर्यो। नेपालमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गयो र भाइरसले मानिसको ज्यान लिन थाल्यो।

पीपीई किटमा डा. पारस।

नयाँ भाइरस भएकाले सुरुवाती दिनमा लक्षणका आधारमा उपचार गरिए पनि ठोस उपचार पद्धति के हुने भन्नेमा कुनै यकिन थिएन। संक्रमण सर्ने डरले मानिसहरू संक्रमितको नजिक पर्नै डराउँथे। अस्पतालमा कोभिडको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत सर्वसाधारण तर्सिने अवस्था थियो। आमनागरिक मात्र होइन, स्वास्थ्यकर्मी स्वयं पनि बाँचिएला कि मरिएला भन्ने चरम त्रासमा थिए।

त्यो विषम परिस्थितिमा पनि डा. पारस भेरी अस्पतालमा एक्लो ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ विशेषज्ञका रूपमा अनवरत खटिए। त्यो बेला उनको मन नआत्तिएको होइन। एकातिर आकस्मिक शल्यक्रियाका बिरामीलाई लट्ठ्याउने र ब्युँझाउने जिम्मेवारी थियो भने अर्कातिर कोरोना संक्रमित गम्भीर बिरामीहरूको सघन उपचारमा जुट्नुपर्ने दोहोरो दबाब उनीमाथि थियो।

त्यतिबेला व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को चरम अभाव थियो। बजारमा सहजै नपाइएपछि आफैँले डिजाइन तयार पारेर, स्थानीय स्रोत-साधनको प्रयोग गरी पीपीई बनाएर लगाएको डा. पारस सम्झिन्छन्। गाउन, क्याप, मास्क र पञ्जाजस्ता सुरक्षा सामग्रीमा बेरिएर आईसीयू र भेन्टिलेटरमा रातदिन बिरामी बचाउन खटिएको त्यो क्षण उनी कहिल्यै भुल्दैनन्।

त्यस बखत संक्रमणका कारण श्वास फेर्नै गाह्रो भएका बिरामीका लागि एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको भूमिका निर्णायक थियो। उनी नेतृत्वको टिमले बिरामीलाई बचाउन हरसम्भव प्रयास गर्यो। तैपनि धेरैलाई बचाउन नसकिएको सम्झँदा उनको मन अहिले पनि अमिलो हुन्छ।

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहर झन् विनाशकारी बनेर आयो। विशेषगरी दोस्रो लहरमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएर थला पर्न थाले।

सुरुमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाइएको थियो, जहाँ भेरीका चिकित्सक पुगेर उपचार गर्नुपर्थ्यो। तर, संक्रमितको संख्या थेगिनसक्नु भएपछि भेरी अस्पतालमै उपचार सुरु गरियो।

केही समय संक्रमण मत्थर भएजस्तो देखिए पनि दोस्रो लहरले स्थिति भयावह बनाइदियो। भेरी अस्पताल संक्रमित बिरामीले खचाखच भरियो। आईसीयू र भेन्टिलेटरमा शय्या पाउनै असम्भव भयो, अस्पतालका सामान्य वार्डहरूसमेत भरिभराउ भए। भुइँमा समेत खुट्टा टेक्ने ठाउँ थिएन।

अवस्था कुनै युद्धमैदानजस्तो थियो- जहाँ भाइरस र जीवनबीच मृत्युको लडाइँ चलिरहेको थियो। अघिल्लो दिन आफूले उपचार गरेका कयौँ बिरामीको भोलिपल्ट बिहान मृत्यु भइसक्थ्यो र उनीहरूको शव ‘डेथ बडी ब्याग’ मा प्याक गर्नुपर्थ्यो।

त्यस्तो कहालीलाग्दो दृश्य देख्दा बेलाबेला उनको मन पनि कमजोर बन्थ्यो- ‘कतै मेरो पनि यही हालत हुने त होइन?’ तर, उनले हरेस खाएनन्, व्यक्तिगत थकान र त्रासलाई बिर्सेर सेवामा जुटिरहे। उनी सयौँको ज्यान बचाउन सफल भए, तर अक्सिजन अभावका कारण कतिपयले आँखैअगाडि प्राण त्याग्दा उनको मन भक्कानिन्थ्यो।

दोस्रो लहरकै बेला अस्पतालको क्वार्टरमा सँगै रहेकी उनकी आमा, श्रीमती र ६ महिनाकी दूधे छोरीसमेत संक्रमित भए। आफ्नै परिवार जोखिममा परेपछि उनीमाथि मानसिक तनाव थपियो। तर, उनीहरू सबैले कोरोनालाई जिते।

अस्पतालमा २४सै घण्टा खटिनुपरेका कारण डा. पारसले आफूलाई संक्रमण भयो कि भएन भनेर कहिल्यै स्वास्थ्य परीक्षण गराउन पाएनन्; संयोगले उनमा कुनै जटिल लक्षण पनि देखिएन।

जब ती अधबैँसे चिकित्सकले आँखैअगाडि प्राण त्यागे
कोरोनाको दोस्रो लहरका क्रममा एक जना अग्रज चिकित्सकलाई बचाउन हरप्रयास गर्दा पनि नसकिएको त्यो घटना डा. पारसको मनमा गहिरो घाउ बनेर बसेको छ।

करिब ५५ वर्षका ती चिकित्सक संक्रमित भएपछि उपचारका लागि भेरी अस्पताल भर्ना भएका थिए। अवस्था गम्भीर बन्दै गएपछि उनलाई आईसीयू हुँदै भेन्टिलेटरमा राखियो।

डा. पारसको टिमले उपचारमा कुनै कसर बाँकी राखेन। बिरामी चिकित्सकका छोरा पनि चिकित्सक नै थिए, उनी पनि आफ्ना बुबाको उपचारमा अहोरात्र खटिएका थिए। औषधि र अक्सिजनको हरसम्भव व्यवस्था गरियो।

तर, चिकित्सकीय टोलीको केही सीप लागेन। ती ५५ वर्षीय चिकित्सकले संक्रमणसँगको लडाइँ जित्न सकेनन्। अस्पताल भर्ना भएको करिब दुई हप्तापछि उनले प्राण त्यागे।

उपचारकै क्रममा ती अग्रज चिकित्सकको निधनले डा. पारसलाई निकै विक्षिप्त बनायो। उनी मात्र होइन, भेरीमै उपचाररत अन्य दुई जना स्वास्थ्यकर्मीले पनि आँखैअगाडि कोरोनाका कारण मृत्युवरण गर्नुपरेको क्षण सम्झिँदा अहिले पनि उनको मुटु चिसो हुन्छ।

समयक्रमसँगै महामारीको त्यो उग्र रूप बिस्तारै शान्त हुँदै गयो र दैनिकी सामान्य लयमा फर्कियो। तर, त्यो विपद्ले उनलाई एउटा ठूलो व्यावहारिक पाठ सिकायो- भविष्यमा आउन सक्ने यस्ता आकस्मिक महामारी र स्वास्थ्य संकटका लागि अस्पतालहरू सधैँ पूर्वतयारीको अवस्थामा रहनुपर्छ।

त्यसैको नतिजास्वरूप, उनले कोरोनाकालमै आईसीयू तालिमसम्बन्धी पाठ्यक्रम (कोर्स) निर्माण गर्ने र स्वास्थ्यकर्मीहरूलाई तालिम दिने काममा सक्रियता देखाए।

छात्रवृत्तिमा डाक्टरी अध्ययन
२०४५ सालमा नुवाकोटको विदुर नगरपालिका-१० मा जन्मिएका पारसले स्थानीय ‘पायोनियर इङ्लिस स्कुल’ बाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि काठमाडौं आएर लैनचौरस्थित निस्ट कलेजबाट उनले प्लस-टु पूरा गरे।

सानैदेखि पढाइमा अब्बल पारसको सपना डाक्टर बन्ने नै थियो। उनले एमबीबीएस प्रवेश परीक्षाको तयारी गरे र खुला प्रतिस्पर्धाबाट पूर्ण सरकारी छात्रवृत्ति कोटामा नाम निकाले। त्यसपछि सन् २००७ मा काठमाडौं विश्वविद्यालयअन्तर्गत चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भए। सन् २०१२ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका कारण उनले अनिवार्य रूपमा दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने सर्त थियो। सोहीअनुसार उनी छात्रवृत्ति करारमा काम गर्न रसुवाको जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्र पुगे। त्यहाँ दुई वर्ष सफलतापूर्वक सेवा गरेपछि उनलाई चिकित्साशास्त्रमा थप उच्च शिक्षा (विशेषज्ञता) हासिल गर्ने हुटहुटी जाग्यो।

छनोटमा ‘एनेस्थेसिया’
स्नातकोत्तर तह अध्ययनका लागि सोच्न  उनले धेरै समय खेर फालेनन्। अध्ययनका लागि उनको रोजाइको विषय बन्यो- ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’।

डा. पारस सन् २०१६ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएर एमडी अध्ययन सुरु गरे। सन् २०१८ मा उनको विशेषज्ञताको अध्ययन पूरा भयो। एमडी पनि सरकारी पूर्ण छात्रवृत्तिमै पढेका कारण उनले फेरि दुई वर्ष सरकारी अस्पतालमा करार सेवा गर्नुपर्ने भयो। त्यही क्रममा उनी भेरी अस्पताल पुगेका थिए।

भेरी पुगेको वर्षदिनमै सुरु भएको कोरोना महामारीको पहिलो र दोस्रो लहरमा अग्रपंक्तिमा खटिएका उनी त्यसयता निरन्तर सोही अस्पतालमा कार्यरत छन्।

छात्रवृत्ति करार अवधि सकिएपछि पनि उनले त्यहीँ अस्थायी करारमा काम जारी राखे। यसैबीच, गत वर्ष असारमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी उनी नवौँ तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा स्थायी सरकारी सेवामा प्रवेश गरे।

स्थायी भएपछिको पहिलो पदस्थापन पनि भेरी अस्पतालमै भयो र हालसम्म उनी त्यहीँ सेवारत छन्। महामारीका बेला अस्पतालमा उनी एक्ला एनेस्थेसियोलोजिस्ट थिए भने हाल यो विभागमा चार जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। हाल डा. पारस भेरी अस्पतालको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

सामान्यतया एनेस्थेसियोलोजिस्टलाई शल्यक्रियाअघि बिरामीलाई लट्ठ्याउने, अचेत बनाउने र शल्यक्रियापछि होसमा ल्याउने चिकित्सकका रूपमा चिनिन्छ। तर, उनीहरूको भूमिका यतिमा मात्र सीमित हुँदैन।

जटिल अवस्थाका बिरामीको जीवनरक्षा र दुखाइ व्यवस्थापनमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। डा. पारसका सर्पदंश तथा कोरोनाविरुद्धको उपचार अनुभवसम्बन्धी अनुसन्धानमूलक आलेखहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत प्रकाशित भइसकेका छन्।

तराईको भेग भएकाले भेरी अस्पतालमा सर्पदंशका गम्भीर बिरामीहरू उल्लेख्य संख्यामा आउँछन्। डा. पारस यस्ता बिरामीको उपचारमा उत्तिकै सक्रिय छन्। उनको दैनिकी बिहान सबेरै ब्याडमिन्टन खेलबाट सुरु हुन्छ। तर कोर्टमा जानुअघि उनी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा पुग्छन्।

यदि त्यहाँ सर्पदंश वा अन्य कुनै गम्भीर बिरामी तत्काल उपचार नपाए ज्यान जाने अवस्थामा छन् भने उनी खेल छाडेर सोझै उपचारमा खटिन्छन्। उनी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सर्पदंशको प्रभावकारी उपचारसम्बन्धी तालिम दिनसमेत सक्रिय रहँदै आएका छन्।

एनेस्थेसिया चिकित्सा विज्ञानको एक अत्यन्त संवेदनशील विधा हो। शल्यक्रियाको पूर्वतयारी गर्दा बिरामीको समग्र स्वास्थ्य अवस्था, रोगको प्रकृति र जोखिमको गहिरो विश्लेषण एनेस्थेसियोलोजिस्टले गर्नुपर्छ।

शल्यक्रियाका क्रममा वा त्यसपछि बिरामीमा कुनै जटिलता आउन सक्छ कि सक्दैन भन्ने सूक्ष्म मूल्यांकन गरेर मात्रै बेहोस बनाउने/नबनाउने निर्णय गरिन्छ। बिरामीको जीवनसँग जोडिएको यही संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीमा डा. पारस खुसीसाथ रमाइरहेका छन्।

असोज १७, २०८३ शनिबार १३:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।