एआईले पत्ता लगायो ‘पीएचपी’को दशक पुरानो सुरक्षा त्रुटि : नेपालसहित विश्वभर साइबर अलर्ट, लाखौँ वेबसाइट जोखिममा

एआईले पत्ता लगायो ‘पीएचपी’को दशक पुरानो सुरक्षा त्रुटि : नेपालसहित विश्वभर साइबर अलर्ट, लाखौँ वेबसाइट जोखिममा

एजेन्सी : नेपालका सरकारी वेबसाइटसहित विश्वका करिब ७० प्रतिशत वेबसाइट सञ्चालन हुने मुख्य प्रोग्रामिङ भाषा ‘पीएचपी’मा एक दशकभन्दा लामो समयदेखि लुकेर रहेको गम्भीर प्राविधिक त्रुटि फेला परेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा पत्ता लागेको यो कमजोरीका कारण विश्वभर उच्च साइबर सुरक्षा सतर्कता जारी गरिएको छ।

अनुसन्धानकर्ताहरूले ‘पीएचपीटुसेल’ नाम दिएको यस त्रुटिलाई १० मा ९.२ को उच्च जोखिमयुक्त श्रेणीमा राखेका छन्।

यस कमजोरीको फाइदा उठाएर ह्याकरहरूले सम्बन्धित वेबसाइटको सर्भर नियन्त्रणमा लिनुका साथै गोप्य तथा संवेदनशील तथ्यांक चोर्न सक्ने चेतावनी साइबर विज्ञहरूले दिएका छन्।

वर्डप्रेस, विकिपिडियादेखि अनलाइन सपिङ पोर्टलहरूसम्म विश्वका लाखौँ वेबसाइट पीएचपी भाषामा आधारित छन्।

विश्वभर सेवा प्रभावित
त्रुटि सार्वजनिक भएलगत्तै सम्भावित आक्रमणबाट जोगिन विश्वभरका धेरै सरकारी तथा निजी सेवाहरू अस्थायी रूपमा बन्द (अफलाइन) गरिएका छन्।

विकिमिडिया फाउन्डेसन, बेलायत र फिनल्यान्ड सरकारका केही पोर्टलहरू तथा स्विट्जरल्यान्डको जेनेभा विश्वविद्यालयले आफ्ना अनलाइन प्रणाली अस्थायी रूपमा रोकेका थिए।

जापानको दूरसञ्चार कम्पनी सफ्टबैंकले भूकम्प तथा सुनामीसम्बन्धी आपत्कालीन मोबाइल अलर्ट सेवा नै केही समयका लागि स्थगित गर्नुपरेको जनाएको छ।

क्लाउड सुरक्षा कम्पनी ‘क्लाउडफ्लेयर’का अनुसार यो कमजोरी सार्वजनिक भएपछि विश्वभर यसलाई दुरुपयोग गर्ने लाखौँ प्रयासहरू भएका छन्। यद्यपि, हालसम्म कुनै पनि वेबसाइट सफलतापूर्वक ह्याक भएको खबर भने आएको छैन।

कसरी पत्ता लाग्यो ?
वर्षौँदेखि मानिसको नजरबाट उम्किरहेको यो जटिल प्राविधिक त्रुटि क्यालिफ र विजका अनुसन्धानकर्ताहरूले ‘ओपनएआई’का अत्याधुनिक एआई टुलहरूको प्रयोग गरेर पत्ता लगाएका हुन्।

विज्ञहरूका अनुसार एआईले सफ्टवेयरको कोडिङमा रहेका त्रुटिहरू मानिसभन्दा धेरै छिटो फेला पार्न सक्ने क्षमता देखाएको छ। तर, यही प्रविधि प्रयोग गरेर ह्याकरहरूले पनि छिटो आक्रमण गर्न सक्ने जोखिम उत्तिकै छ।

अब के गर्ने ?
पीएचपी फाउन्डेसनले यस सुरक्षा कमजोरीलाई समाधान गर्न नयाँ सुरक्षा अपडेट सार्वजनिक गरिसकेको छ।

अमेरिका, बेलायत, जापानलगायतका साइबर सुरक्षा निकायहरूले सबै वेबसाइट सञ्चालक तथा विकासकर्ताहरूलाई तत्काल आफ्नो प्रणालीको ‘पीएचपी’ अपडेट गर्न कडा निर्देशन दिएका छन्।

तुरुन्तै अपडेट गर्न सम्भव नभएका प्रणालीहरूलाई केही समयका लागि अफलाइन राख्नसमेत सुझाइएको छ।

कात्तिक ७, २०८३ शनिबार १२:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।