भारतको मणिपुरमा फेरि भड्कियो हिंसा : १० दिनमा १४ जनाको हत्या, त्रिकोणीय द्वन्द्वको रूप लिँदै
एजेन्सी : भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा केही समय मत्थर देखिएको जातीय हिंसा पुनः चर्किएको छ।
अक्टोबर ९ देखि १० दिनको अवधिमा मात्रै विभिन्न जिल्लाहरूमा भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ।
पछिल्लोपटक अक्टोबर १९ मा इम्फाल इस्ट जिल्लाको जंगलमा दाउरा खोज्न गएका तीन जना मैतेई समुदायका नागरिकको चरमपन्थी समूहले गोली हानी हत्या गरेपछि राजधानी इम्फालसहित उपत्यकाभर तनाव बढेको छ।
आक्रोशित आफन्त र स्थानीयले सुरक्षाको प्रत्याभूति र न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्। हत्याको विरोधमा महिलाहरूले मशाल जुलुस प्रदर्शन गर्नुका साथै उपत्यकामा बन्दसमेत आह्वान गरिएको छ।
द्वन्द्व अब ‘त्रिकोणीय’
सन् २०२३ मे महिनादेखि मैतेई र कुकी समुदायबीच सुरु भएको हिंसामा पछिल्ला महिनाहरूमा अर्को स्थानीय ‘नागा’ समुदायसमेत जोडिएको छ।
गत फेब्रुअरीदेखि उखरुल जिल्लामा नागा र कुकी समुदायबीच सुरु भएको नयाँ झडपमा अहिलेसम्म २२ नागा र ३१ कुकी नागरिक मारिइसकेका छन्।
यसअघि दुई समुदाय (मैतेई र कुकी) बीच मात्र सीमित रहेको यो जातीय द्वन्द्व अहिले मैतेई, कुकी र नागा समुदायबीचको ‘त्रिकोणीय लडाइँ’मा परिणत भएको छ।
हतियार बरामद र सुरक्षा कारबाही
घटनापछि भारतीय सेना, असम राइफल्स र मणिपुर प्रहरीले गरेको संयुक्त अपरेशनमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ।
उनीहरूको साथबाट एके–४७, इन्सास राइफल, स्नाइपर, ग्रिनेड र एक हजारभन्दा बढी गोलीगट्ठा बरामद गरिएको छ। पक्राउ परेकामध्ये दुई जनाले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
हिंसा बढ्नुको कारण
सुरक्षा विश्लेषकहरूका अनुसार सरकारसँग युद्धविराम सम्झौतामा रहेका सशस्त्र समूहहरूले नै सम्झौता उल्लंघन गर्दै हिंसा भड्काउने काम गरिरहेका छन्।
यसबाहेक म्यानमार सीमाबाट हुने हतियार तस्करी, जमिनको स्वामित्व विवाद र अलग प्रशासनिक भूभाग (केन्द्र शासित प्रदेश) को मागका कारण हिंसा झन् जटिल बन्दै गएको छ।
राज्यका गृहमन्त्री गोविन्दास कोंथौजमले समस्याको समाधान बन्दुकबाट नभई वार्ता र संवादबाट मात्र सम्भव हुने भन्दै सरकारले शान्ति स्थापनाका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
कात्तिक ७, २०८३ शनिबार ०९:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।