मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पद्वारा क्यानाडाली वस्तुको ट्यारिफमा छुट घोषणा
एजेन्सी : अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनको दुई हप्ताअघि डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुहरूमा लगाउँदै आएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) मा केही छुट दिने घोषणा गरेको छ।
ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० देखि लागू हुने गरी प्लाइवुड, केही कागजजन्य सामाग्री, मेसिनरी तथा रेफ्रिजरेशन उपकरणहरूलगायतका सामग्रीमा ट्यारिफ घटाइनेछ। प्याकिङ बाकस र क्रेट्स जस्ता सामानमा ट्यारिफ हटाइँदा गलैँचा र फोहोरजन्य उत्पादनमा भने नयाँ महसुल थप गरिएको छ।
यस निर्णयलाई अमेरिकाको आसन्न मध्यावधि निर्वाचनसँग जोडेर हेरिएको छ।
'मेन' राज्यकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले आफूले स्थानीय कृषि उद्योगलाई राहत दिलाउन प्रशासनसँग निरन्तर पहल गरेको र सोहीअनुसार ट्यारिफमा छुट दिइएको दाबी गरेकी छन्। उनका अनुसार यो छुटले मेन राज्यका ब्लुबेरी, आलु, स्याउ र लेउ (सिविड) उत्पादकहरूलाई ठूलो फाइदा पुग्नेछ।
यद्यपि, उनका डेमोक्रेटिक प्रतिस्पर्धी ट्रोय ज्याक्सनले यसको आलोचना गर्दै ट्रम्पको व्यापार युद्धले नागरिकको जीवन महँगो बनाएको र पहिले आगो लगाएर अहिले एक कप पानी ल्याएर जस लिन खोजिएको टिप्पणी गरेका छन्।
गत अगस्टमा दुई देशबीचको व्यापार वार्ता असफल भएपछि अमेरिकाले क्यानाडाका २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत ट्यारिफ लगाएको थियो। यसको जवाफमा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि अमेरिकी सामानमा सोही बराबरको ट्यारिफ लगाएका थिए।
ह्वाइट हाउसका प्रवक्ता म्याथ्यु मिडलटनले क्यानाडाले अमेरिकी व्यापारमा गर्दै आएको विभेदकारी व्यवहारविरुद्ध ट्रम्प प्रशासनले आफ्ना श्रमिकको हितमा कदम चालिरहेको दाबी गरेका छन्। अर्कोतर्फ, क्यानाडाका आन्तरिक व्यापार मन्त्री डोमिनिक लेब्ल्याङ्कले नयाँ निर्णयको समीक्षा भइरहेको बताउँदै दुवै देशको हितलाई सम्मान गर्ने व्यापारिक सम्बन्ध निर्माणका लागि क्यानडा रचनात्मक रूपमा वार्ता गर्न तयार रहेको बताएका छन्।
शुक्रबार राष्ट्रपति ट्रम्पले क्यानडा अमेरिकासँग व्यापार सम्झौता गर्न सक्रिय रूपमा लागिरहेको बताएका थिए। प्रधानमन्त्री कार्नीले पनि दुवै देशका लागि लाभदायक सम्झौता गर्न क्यानडा तयार रहेको उल्लेख गर्दै आवश्यक परे सम्झौताका लागि अझै केही महिना वा अर्को अमेरिकी प्रशासनसम्म पर्खन सकिने बताएका छन्।
अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा सीमावर्ती राज्यहरूमा व्यापार युद्धको असर गहिरिँदै गएको छ, जसले अमेरिकी संसद (कांग्रेस) मा कुन पार्टीको बहुमत हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ।
कात्तिक ७, २०८३ शनिबार ११:४५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।