हिंसा भड्किएपछि फ्रान्सभर ७० हजार सुरक्षाकर्मी परिचालन, मुख्य शहरहरूमा प्रदर्शनमा प्रतिबन्ध
एजेन्सी : वर्षौंयताकै गम्भीर शहरी हिंसा भड्किएपछि फ्रान्स सरकारले सम्भावित झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
विद्यालयको शैक्षिक वातावरण सुधारको माग राख्दै माध्यमिक तहका विद्यार्थीहरूले थालेको आन्दोलनमा चर्को महँगी र जीवनयापनको संकटविरुद्ध सर्वसाधारणसमेत थपिएपछि प्रदर्शन देशव्यापी र हिंसात्मक बन्दै गएको हो।
गृहमन्त्री लरेन्ट नुनेजले सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाट भड्काउने संगठित प्रयास भइरहेकाले उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएका छन्।
यसैबीच, गत शनिबार भएका लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्न २१७ जनालाई अदालतले जेल सजाय सुनाइसकेको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनले अतिवामपन्थी समूहहरूले गणतन्त्र नै ढाल्ने प्रयास गरेको आरोप लगाउँदै अराजकताविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रमुख शहरहरूमा प्रदर्शनमा रोक, लुभ्र सङ्ग्रहालय बन्द
सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले राजधानी पेरिस, लियोन र ओर्लियन्सजस्ता मुख्य सहरहरूमा प्रदर्शनमाथि कडा प्रतिबन्ध लगाएको छ। पेरिसमा श्रमिक सङ्गठनहरूले तय गरेको प्रदर्शन मार्गको अनुमति खारेज गरिएको छ।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै पेरिसस्थित विश्वप्रसिद्ध ‘लुभ्र’लगायतका प्रमुख सङ्ग्रहालयहरू शनिबार बन्द गरिएका छन् भने ‘आर्ट बासेल’ कला मेलाको अवधिसमेत छोट्याइएको छ।
उता, दक्षिणपन्थी नेतृ मरिन ले पेनको ‘नेसनल र्याली’ (आरएन) पार्टीको महाधिवेशन हुन लागेको ओर्लियन्स सहरमा पार्टीविरोधी समूहहरूले प्रदर्शनको तयारी गरेपछि त्यहाँको सहरी केन्द्रमा भेला हुन निषेध गरिएको छ।
मानवअधिकारवादी संस्थाको चिन्ता
प्रदर्शनमाथिको पूर्ण प्रतिबन्ध र प्रहरी हस्तक्षेपको मानवअधिकारवादी संस्थाहरूले कडा आलोचना गरेका छन्।
एम्नेस्टी इन्टरनेसनलले सरकारी कदमलाई ‘तानाशाही अभ्यासतर्फको झुकाव’ भन्दै शान्तिपूर्ण विरोध गर्न पाउने नागरिकको मौलिक अधिकार खोसिएको टिप्पणी गरेको छ।
त्यस्तै, ह्युमन राइट्स वाचले पनि भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले प्रयोग गरेका हतियारबाट बालबालिकासमेत गम्भीर घाइते भएको भन्दै आपत्ति जनाएको छ।
ले पेनलाई चुनावी फाइदा
राष्ट्रपति म्याक्रोनको कार्यकाल अन्त्यतिर पुग्दै गर्दा र नयाँ राष्ट्रपतीय निर्वाचन हुन ६ महिना मात्र बाँकी रहँदा चर्किएको यस आन्दोलनले फ्रान्सको राजनीति थप ध्रुवीकृत बनाएको छ।
हालैको एक सर्वेक्षणअनुसार, बढ्दो अशान्ति र सरकारी असक्षमताको फाइदा अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनलाई पुग्ने देखिएको छ। सर्वेक्षणले आगामी निर्वाचनमा ले पेन स्पष्ट अग्रताका साथ विजयी हुन सक्ने सम्भावना देखाएको छ।
कात्तिक ७, २०८३ शनिबार ११:०१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।