अत्यधिक गर्मीका कारण युरोपमा ५० हजारभन्दा बढीको मृत्यु, वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने

अत्यधिक गर्मीका कारण युरोपमा ५० हजारभन्दा बढीको मृत्यु, वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने

एजेन्सी : यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ। जसमध्ये करिब दुई तिहाइ मृत्युका लागि मानव निर्मित जलवायु परिवर्तन मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ।

यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो। यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो। अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ। युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ। यस गर्मीयाममा केही शहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो।

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो। मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए। तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन्।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए।अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ।

अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन्। उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन्।

कात्तिक ६, २०८३ शुक्रबार १६:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।