फार्मेसीको आवरणमा नशाको व्यापार, पोखरामा ७ हजार बढी चक्कीसहित फार्मेसी सञ्चालिका पक्राउ
कास्की : पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधजन्य औषधिको कारोबार गरेको आरोपमा एक फार्मेसी सञ्चालिका पक्राउ परेकी छन्।
पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित ‘जलधारे औषधि पसल’की सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले ७ हजार १६० थान लागुऔषधका चक्कीसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त फार्मेसीमा छापा मारेको थियो।
खानतलासीका क्रममा ढुङ्गानाको साथबाट चार प्रकारका लागुऔषधजन्य औषधि बरामद भएको छ। जसमा कोडिप-पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, क्लोर्डियाजेपोक्साइड १६० चक्की र लोराजेपाम १५० चक्की रहेका छन्।
“लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा यी चक्कीहरू फेला परेका हुन्,” डीएसपी पासवानले भने, “औषधि पसलबाटै यसरी लागुऔषध बरामद हुनुले बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।”
पक्राउ परेकी ढुङ्गानाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कात्तिक ७, २०८३ शनिबार ०९:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।