रसुवामा घरनजिकै ढुङ्गाको खोचमा २२ वर्षीय युवक मृत फेला
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६, रुद्रगङ्गा टोलमा एक युवक आफ्नै घरनजिकै मृत अवस्थामा फेला परेका छन्।
स्थानीय दारे तामाङका २२ वर्षीय छोरा दीपक तामाङ घरभन्दा करिब १०० मिटर माथि ढुङ्गाको खोचमा मृत फेला परेका हुन्।
बिहीबार बिहान करिब ११:४० बजे मृतकका बुबाले छोराको शव ढुङ्गाको खोचमा अड्किएको देखेपछि प्रहरीलाई फोनमार्फत खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट करिब २ किलोमिटर उत्तर–पूर्व पर्ने घटनास्थलमा खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षक आषिस साहको कमान्डमा घटनास्थल जाँच तथा अपराध अनुसन्धान विशेषज्ञ सहित ७ जनाको टोली पुगेर घटनास्थल सुरक्षित राखी आवश्यक मुचुल्का उठाएको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लासजाँच प्रकृति मुचुल्काको काम सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि धुञ्चे अस्पताल पठाएको छ।
युवकको मृत्युको कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
कात्तिक ७, २०८३ शनिबार ०९:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।