बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न सात करोड लाग्ने

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न सात करोड लाग्ने

म्याग्दी : बाढीपहिरो र नदी कटानबाट क्षतविक्षत बनेको पश्चिम म्याग्दीको ‘लाइफलाइन’ बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार गत असोज दोस्रो साताको अविरल वर्षा र म्याग्दी नदी कटानका कारण बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मका २२ स्थानमा सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

कार्यालयका प्रमुख राजेश उलकका अनुसार बेनी-पानाबगर खण्ड पुनर्निर्माणका लागि चार करोड ६२ लाख र पानाबगर-दरवाङअन्तर्गत बलौटे खण्डका लागि दुई करोड २७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

मालिका गाउँपालिका-६ स्थित बलौटेमा नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएको छ भने धारापानीमा १५० मिटर ढलान सडक भासिएको छ।

बलौटेको तत्काल मर्मतका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले आवश्यक बजेट व्यवस्था गरेर एक वर्षभित्र क्षतिग्रस्त सडक पूर्ण रूपमा पुनर्निर्माण गरिने बताएका छन्।

सडक क्षतविक्षत भएपछि बेनी-मुनाको सिधा यातायात अवरुद्ध भएको छ। हाल दुखुबेँसी-तोलाबाङ र पखेर-बाबियाचौरजस्ता साँघुरा ग्रामीण वैकल्पिक मार्गबाट एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ, जहाँ ठूला सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ।

मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो सडक जलजला-ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने रणनीतिक मार्गसमेत हो।

कात्तिक ७, २०८३ शनिबार ०७:०९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।