बंगालको खाडीमा चक्रवात विकसित हुँदै, कात्तिक ११ देखि १५ गतेसम्म वर्षा र हिमपातको जोखिम
काठमाडौं : दशैंको विदा सकिएर जनजीवन सामान्य लयमा फर्किँदै गर्दा आउँदो साता नेपालको मौसममा ठूलो फेरबदल आउने संकेत देखिएको छ।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई नेपालको मौसमी प्रणालीमा समेत असर पुर्याउने देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी कात्तिक ११ देखि १५ गतेसम्म देशभर मौसम प्रतिकूल हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार पूर्व-मध्य तथा आसपासको दक्षिण-पूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र बलियो बन्दै कात्तिक ९ गतेसम्म ‘चक्रवाती आँधी’मा परिणत हुने सम्भावना छ।
उक्त प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने र त्यसको असर नेपालसम्म फैलिने महाशाखाको विश्लेषण छ।
यस प्रणालीका कारण नेपालमा हुने वर्षाको यकिन परिमाणबारे थप अध्ययन भइरहे पनि यसले विशेषगरी कृषि, पर्यटन तथा सडक यातायात क्षेत्रमा गम्भीर असर पार्न सक्ने मौसमविद्हरूले बताएका छन्।
‘हुदहुद’को जस्तै मौसमी संकेत, २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने आकलन
मौसमविद् डा. विनोद पोखरेलका अनुसार बंगालको खाडीबाट आउने चक्रवाती प्रणाली नेपालनजिक आइपुग्दा माथिल्लो वायुमण्डलको पश्चिमी न्यूनचापीय रेखासँग जुध्ने सम्भावना छ। आगामी बिहीबारदेखि देखिने यो अन्तरक्रियाले मुलुकका केही भू-भागमा भारी वर्षा निम्त्याउन सक्छ।
विभिन्न विश्वव्यापी मौसमी मोडलहरूले लगभग उस्तै पूर्वानुमान देखाएको उल्लेख गर्दै डा. पोखरेलले प्रणाली सक्रिय रहने अवधिभर केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको बताएका छन्।
डा. पोखरेलले सन् २०१४ अक्टोबर १४ मा आएको ‘हुदहुद’ चक्रवातको स्मरण गराउँदै भनेका छन्, “त्यतिबेला अन्नपूर्ण पदयात्रा क्षेत्रसहित ४३ जनाले ज्यान गुमाएका थिए। अहिलेको प्रणालीमा पनि त्यस्तै केही मौसमी संकेत देखिएका छन्। यद्यपि परिणाम त्यस्तै हुन्छ भन्ने छैन, तर हामी समयमै सचेत भएर पूर्वतयारी गर्न आवश्यक छ।”
कृषि क्षेत्र (धानबाली) मा ठूलो जोखिम :
कात्तिक महिना किसानहरूले धान काट्ने र भित्र्याउने मुख्य समय हो।
खेतमा पाकेर लहलहाएको धान तथा काटेर सुकाउन राखिएको बाली वर्षा, हावाहुरी वा असिनाले नष्ट गर्ने उच्च जोखिम छ। स्थानीय मौसमको अवस्था हेरेर मात्र बाली काट्न र यथाशक्य सुरक्षित स्थानमा भण्डारण गर्न विज्ञहरूले किसानलाई सुझाएका छन्।
हिमाली पदयात्रा र पर्यटन :
अहिले शरद ऋतुको मुख्य पदयात्रा तथा पर्वतारोहणको याम चलिरहेको छ।
चक्रवातको असरले उच्च हिमाली भू-भागमा भारी हिमपात, तीव्र चिसो र हिमपहिरोको जोखिम बढाउनेछ। पदयात्री तथा पर्यटन व्यवसायीलाई आधिकारिक मौसम पूर्वानुमान नियमित जाँच गरेर मात्र यात्रा योजना बनाउन आग्रह गरिएको छ।
पहिरो र सडक अवरोध :
यस वर्षको मनसुनमा परेको अत्यधिक वर्षाले पहाडी भू-भागका जमिन र सडकहरू पहिले नै कमजोर बनेका छन्। थप वर्षाले भिरालो जमिनमा नयाँ पहिरो निम्त्याउने र राजमार्गहरू अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सतर्क रहन भनिएको छ।
महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र मौसमी विश्लेषणलाई क्रमशः अद्यावधिक गर्दै जाने जनाएको छ।
साथै, नागरिक तथा सम्बन्धित विपद् व्यवस्थापन निकायहरूलाई सामाजिक सञ्जालमा आउने हल्लाको पछि नलागी विभागको आधिकारिक बुलेटिन हेरेर मात्रै सतर्कता र पूर्वतयारीका कदम चाल्न अनुरोध गरिएको छ।
कात्तिक ७, २०८३ शनिबार ०६:५४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।