आपराधिक लाभ र बाल यौन दुरुपयोगको आरोपमा धनुषाबाट चार जना पक्राउ

आपराधिक लाभ र बाल यौन दुरुपयोगको आरोपमा धनुषाबाट चार जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन खोजेको तथा बाल यौन दुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आरोपितहरूले जनकपुरधाम उपमहानगरपालिका-२० मा एक बालिका र युवकलाई घेरा हाली दुर्व्यवहार गर्दै भिडियो खिचेका थिए।

त्यसपछि उनीहरूले सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर अभिभावकसँग रकम असुल्न खोजेका थिए।

आरोपितहरूले अभिभावकलाई फोनमार्फत धम्क्याउँदै मोबाइल बैंकिङ प्रयोग गरी ६ हजार रुपैयाँ रकम ट्रान्सफर गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट ज १२ प ७७७७ र मधेस प्रदेश ०२-०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।

पक्राउ परेका चारै जनाविरुद्ध मुलुकी अपराध संहिताअनुसार ‘आपराधिक लाभ लिन नहुने’ तथा ‘बाल यौन दुरुपयोग’ सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कात्तिक ६, २०८३ शुक्रबार २१:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।