जोर्डनको एक चर्चमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु, २८ घाइते
एजेन्सी : मध्यपूर्वी मुलुक जोर्डनको एक चर्चमा अन्तिम संस्कार भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
सरकारी अधिकारीहरूका अनुसार यो घटना जोर्डनको कराक प्रान्तस्थित हमुद गाउँमा भएको हो।
बन्दुकधारीहरू कारमा चढेर आएका थिए र चर्चभित्र पसेर अन्धाधुन्ध गोली चलाई फरार भएका थिए। जोर्डन सरकारका प्रवक्ता डा. मोहम्मद अल–मोमानीले यस घटनालाई ‘घृणित र अमानवीय आक्रमण’ भनेका छन्।
तीन जना बन्दुकधारी संलग्न
बीबीसीले पुष्टि गरेको सीसीटीभी फुटेजमा तीन जना हतियारधारी सडकबाट चर्चतर्फ गइरहेको देखिएको छ।
तीमध्ये दुई जना चर्चको मुख्य ढोकातर्फ अघि बढेका र केही समयपछि तेस्रो व्यक्तिसँगै फर्किएको देखिएको छ। तीनै जनाको हातमा स्वचालित हतियार रहेको देखिन्छ।
घटनाका बेला चर्चभित्र रहेका एक प्रत्यक्षदर्शीले सरकारी टेलिभिजन च्यानल 'अल–ममलका'लाई बताएअनुसार, दुई जना बन्दुकधारीले शोकसभामा उपस्थित मानिसहरूलाई लक्षित गरी लगातार केही मिनेटसम्म अन्धाधुन्ध गोली चलाएका थिए।
दोषीमाथि कडा कारबाही गर्ने राजाको चेतावनी
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले यस घटनालाई ‘आतंककारी कार्य’ भन्दै दोषीहरूलाई कडाभन्दा कडा सजाय दिइने बताएका छन्। हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।
घटनापछि सुरक्षा अवस्थाको समीक्षा गर्न प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ। यता लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि यस घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘घृणित आतंकवादी हमला’ भनेका छन्।
मुस्लिम बाहुल्य रहेको जोर्डनको कराक क्षेत्रमा इसाई समुदायको पनि उल्लेख्य बसोबास छ। जोर्डनमा विगतमा केही हिंस्रक घटनाहरू भए पनि सामान्यतया यस्ता किसिमका सांघातिक आक्रमणहरू निकै विरलै हुने गर्छन्।
कात्तिक ७, २०८३ शनिबार ०७:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।