यस्तो रह्यो राजनीतिक नेतृत्वदेखि सेलिब्रिटीसम्मको दशैं टीका

यस्तो रह्यो राजनीतिक नेतृत्वदेखि सेलिब्रिटीसम्मको दशैं टीका

काठमाडौं : महान् चाड बडादशैंका अवसरमा आज देशभर मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर आशीर्वाद लिइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गरेको बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा राष्ट्रप्रमुख, शीर्ष राजनीतिक नेतृत्व तथा कला क्षेत्रका हस्तीहरूले टीका तथा प्रसाद ग्रहण गरेका छन्।

राष्ट्रपति पौडेलले बिहान १०:२६ को साइतमा शीतल निवासमा आफ्ना गुरू पुरोहितको हातबाट टीका-जमरा र रक्षाबन्धन ग्रहण गरे।

त्यसपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारलाई टीका लगाइदिए। यस वर्ष पनि शीतल निवासमा सर्वसाधारणलाई टीका लगाउने औपचारिक कार्यक्रम स्थगन गरिएको थियो।

पूर्वराष्ट्रपति भण्डारीले बालुवाटार निवासमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट जमरा ग्रहण गरिन्। त्यसपछि उनले छोरी, ज्वाइँ र आफन्तलाई टीका लगाइदिनुका साथै निवास पुगेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पनि टीका र आशीर्वाद प्रदान गरिन्।

प्रधानमन्त्री तथा सरकारका अन्य मन्त्रीहरूले पनि परिवारभित्रै सीमित रहेर मान्यजनबाट टीका ग्रहण गरी जनतालाई भ्रष्टाचारमुक्त समाज, सुशासन र पुनर्निर्माणमा जुट्न आह्वानसहित शुभकामना व्यक्त गरेका छन्।

सत्तारुढ रास्वपा सभापति रवि लामिछानेको दशैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहानको शुभ साइतमा दाइ हरिशरण लामिछानेको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्।त्सपछि उनले धर्मपत्नी निकिता पौडेल तथा परिवारका अन्य सदस्यहरूलाई टीका-जमरा लगाइदिएका थिए।

सभापति लामिछानेले विजयादशमीका अवसरमा वक्तव्यमार्फत शुभकामना सन्देश जारी गर्दै देशमा हालै आएको प्राकृतिक विपत्ति र क्षतिका बीच यस वर्षको दशैँ मनाउनुपरेको स्मरण गरे।

उनले शोक र संकटलाई शक्तिमा बदल्दै ‘निराशाबाट आशा र विपत्तिबाट पुनर्निर्माण’ तर्फ अघि बढ्न नवदुर्गाले सबैलाई सत्प्रेरणा दिऊन् भनी कामना गरेका छन्।

विपत्तिको संवेदनशीलतालाई दृष्टिगत गर्दै उनले कार्यकर्ता तथा सर्वसाधारणसँगको वृहत् टीका कार्यक्रम नगरी पारिवारिक जमघटमा मात्र दशैं सीमित राखेका छन्।

कांग्रेस सभापतिद्वारा माता-पिताबाट टीका ग्रहण
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीको शुभ साइतमा आफ्ना बुबा महेन्द्रकुमार थापा र आमा कान्ता थापाको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरे।

त्यसपश्चात् उनले धर्मपत्नी डा. अञ्जना केसी थापा, छोरीहरूलगायत परिवारका सदस्यहरूलाई टीका-जमरा लगाइदिए।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै सभापति थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको स्मरण गरे।

उनले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेका परिवारको पीडामा मलम लगाउन र एकअर्काको सहारा बन्न सबैलाई अपिल गरे।

साथै, उनले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल र समाजलाई जोड्ने सद्भाव अभिवृद्धि होस् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरे।

दशैं मनाउन रिसोर्ट पुगे ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसपालीको दशैंमा बिदा मनाउन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित हिमालयन दृश्य रिसोर्ट पुगेका छन्।

उनी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसँगै मंगलबार (कार्तिक ३ गते) दिउँसो उक्त रिसोर्ट पुगेका हुन्। बुबाको मृत्यु भएको वर्षदिन नभएकाले उनले टीका भने लगाएनन्।

सेलिब्रिटी तथा कलाकारहरूको टीका
अभिनेत्रीहरू केकी अधिकारी, वर्षा राउत, पूजा शर्मा, आँचल शर्मा लगायतले परिवारका आमाबुवा तथा ज्येष्ठ मान्यजनको हातबाट रातो टीका र जमरा थापेका तस्वीरहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

रास्वपा सांसद एवं पूर्वकलाकार रिमा विश्वकर्माले पनि परिवारका मान्यजनहरूबाट टीका-प्रसाद ग्रहण गरी दशैँ मनाएकी छन्।

गायिका एलिना चौहान, समीक्षा अधिकारी तथा संगीतकर्मीहरूले पारिवारिक वातावरणमा रमाइलो गर्दै मान्यजनबाट दक्षिणा र आशीर्वाद ग्रहण गरेका छन्।

अभिनेत्री बसुन्धरा भुसाल, भुवन चन्द, अभिनेता हरिहर शर्मा, दीपकराज गिरी , अनमोल केसीलगायतका कलाकारहरूले पनि विजयादशमी मनाएका छन्।

यसका अलावा क्रिकेटरहरू सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, गुल्सन झा, लोकेश बक लगायतले पनि मान्यजनको हातबाट टीका तथा आशिर्वाद थापेर दशैं मनाए।

आज विजयादशमीका दिन सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म आफन्त तथा मान्यजनको घरमा गएर आशीर्वाद लिने परम्पराअनुसार निरन्तर चल्नेछ।

कात्तिक ४, २०८३ बुधबार १९:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।