आईसीसी यू-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा, १५ खेल काठमाडौंमा हुने
काठमाडौं : नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२७’ को खेल तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपाली मैदानमा हुने भएका हुन्।
सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म चल्ने प्रतियोगिताको समूह ‘ए’ मा सहआयोजक नेपालसहित साविक विजेता भारत, वेस्ट इन्डिज र आयरल्यान्ड रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी २२ मा आयरल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि नेपालले दोस्रो खेल जनवरी २४ मा भारतसँग र तेस्रो खेल जनवरी २६ मा वेस्ट इन्डिजसँग खेल्ने तालिका रहेको छ।
नेपालमा हुने समूह ‘ए’ र समूह ‘डी’ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
प्रतियोगितामा कुल १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र यूएई रहेका छन्।
यस्तै समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड परेका छन्। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरू भने बंगलादेशको चट्टोग्राममा हुनेछन्।
नेपालले पहिलोपटक आईसीसीको विश्वकपस्तरको प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको हो।
कात्तिक ४, २०८३ बुधबार २१:५४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।