विपद्को शोक र सडकको सकस : उल्लासविहीन बन्यो चितवनको दशैं

विपद्को शोक र सडकको सकस : उल्लासविहीन बन्यो चितवनको दशैं
एआईको सहयोगमा बनाइएको तस्बिर

चितवन : बाढीपहिरोको वितण्डा, नदीहरूमा आएको विनाशकारी बाढी र अवरुद्ध राजमार्गका कारण यस वर्ष चितवनवासीको दशैं विगतको जस्तो उल्लासमय हुन सकेन।

भोटेकोशी, त्रिशूली र बूढीगण्डकी हुँदै नारायणी नदीसम्म बगेर आएका बाढीका कारण ठूलो जनधनको क्षति भएपछि चाडपर्वको रौनक शोक र त्रासमा बदलियो।

विपद्‌मा आफन्त गुमाएका परिवारजन, नदी किनारबाट शव संकलन तथा उद्धारमा खटिएका स्वयंसेवक र राजमार्गको जोखिमपूर्ण यात्राका कारण यसपालि दशैं खल्लो बनेको हो।

बाढीमा बेपत्ता भएकाहरूको खोजी अझै जारी छ भने भेटिएका कतिपय शव पहिचान नभएर डिएनए परीक्षणका लागि सुरक्षित राखिएको छ।

भरतपुर महानगरपालिका-कृष्णपुरका किशोर सापकोटाका मामा विश्वनाथ पौडेल गोसाइँकुण्ड तीर्थयात्राका क्रममा बाढीमा परेर बेपत्ता भए। मामाको अत्तोपत्तो नहुँदा परिवारमा दशैंको कुनै उमङ्ग छाएन।

“घरमा टीका त भयो, तर मामा हराएको पीडाले मन भारी भइरह्यो,” सापकोटाले भने, “चाडपर्व त आयो, तर हाम्रो घरमा दशैं आएन।”

नागरिकको उद्धार र राहतमा अहोरात्र खटिएकाहरूका लागि पनि यो दशैं कर्तव्यमै सीमित भयो।

बाढीमा बगेर नारायणी नदी किनारमा फेला परेका शव ओसार्न खटिएका संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नवरात्रिभर धार्मिक अनुष्ठान गरे पनि मनमा खुसी नछाएको बताए।

“नदी किनारमा विभत्स अवस्थामा शव संकलन गर्दाको दृश्य आँखामा नाचिरहन्छ,” उनले भने, “दशैंको मुखमा खाद्यान्न अभाव झेलिरहेका विपन्न बस्तीमा राहत बाँड्दै बित्यो, यो विषम परिस्थितिमा रमाइलो गर्ने मनै भएन।”

यस्तै, मानव सेवा आश्रम चितवनका अभियन्ता एवं समाजसेवी विनोद ढकालले महाअष्टमीका दिन भूमिहीन तथा चेपाङ बस्तीमा खाद्यान्न ढुवानी गरेर दशैं बिताए।

आश्रमका आश्रितहरूसँग टीका लगाए पनि बाढीको पीडा र गरिबीले दशैंको उमङ्ग खोसेको उनको अनुभव छ।

“चारैतिर बाढीपहिरोको त्रास र विपन्नको रोदन हुँदा चाडपर्वमा रमाउन सकिँदैन,” ढकालले भने, “यसपालि उत्सवभन्दा समाजसेवामै दशैं समर्पण गरियो।”

चाडबाडको समयमा हुने चहलपहल पनि यस वर्ष ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार राजमार्ग र भित्री सडकहरूमा सवारीसाधनको चाप विगतका तुलनामा निकै कम रह्यो।

मौसमको अनिश्चितता, पहिरोले जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने डर र विपद्को मानसिक त्रासरका कारण मानिसहरू टीका लगाउन टाढाका आफन्तसम्म जान डराए।

आफ्नै घरभित्र सामान्य टीका-टालोमा सीमित हुँदा यस वर्षको दशैं विगतको भन्दा सुनसान र खल्लो बन्न पुगेको स्थानीय बताउँछन्।

सम्पादनसहित प्रकाशित राससको सामग्री

कात्तिक ५, २०८३ बिहीबार १९:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।