मंगलबारदेखि वर्षाको सम्भावना

मंगलबारदेखि वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा ‘साता दिनसम्म लगातार वर्षा हुने’ भन्दै फैलाइएको खबर भ्रामक रहेको स्पष्ट पारेका छन्।

केही स्थानमा सामान्य वर्षाको सम्भावना भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘आगामी मंगलबारदेखि वर्षाको सम्भावना देखिएको छ, तर कुन स्थानमा, कति र कहिलेसम्म वर्षा हुन्छ भन्ने यकिन छैन,’ मौसमविद् महर्जनले भने, ‘सामाजिक सञ्जालमा फैलिएको अपुष्ट खबरले विशेषगरी किसान दाजुभाइ त्रसित बनेको पाइएको छ। मौसमी प्रणाली निरन्तर परिवर्तनशील हुने भएकाले हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ।’

नेपालको मौसमी परिवेशमा तीन दिनसम्मको पूर्वानुमान धेरै हदसम्म मिल्ने भए पनि साता दिनपछिको अवस्था अहिले नै यकिन गर्न नसकिने महाशाखाले जनाएको छ।

आगामी साताको मौसमी गतिविधिबारे विभागले नियमित रूपमा नयाँ बुलेटिनमार्फत जानकारी गराउने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचनामा मात्र विश्वास गर्न विभागले सबैमा अपिल गरेको छ।

कात्तिक ५, २०८३ बिहीबार १९:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।