एनपीएलका सम्पूर्ण खेलले पायो ‘लिस्ट ए टी-२०’को दर्जा

एनपीएलका सम्पूर्ण खेलले पायो ‘लिस्ट ए टी-२०’को दर्जा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ।

क्यानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरूलाई आईसीसीले मान्यता दिएको हो।

आईसीसीको यस निर्णयसँगै एनपीएलका सबै खेलहरूले आधिकारिक रूपमा ‘List A T-20’ को मान्यता पाएका छन्। यसले खेलाडीहरूको व्यक्तिगत तथ्यांक तथा रेकर्डलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउनेछ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‡यस निर्णयले नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान अभिवृद्धि गर्न थप महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास नेपाल क्रिकेट संघले लिएको छ।’

घरेलु मैदानमा आयोजना हुन लागेको यस प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली क्रिकेट वृत्तमा थप उत्साह थपिएको छ।

कात्तिक ४, २०८३ बुधबार १९:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।