ठमेलमा विदेशी पर्यटकले पनि लगाए दशैंको टीका
काठमाडौं : नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादशैंको टीका र जमरा लगाएका छन्।
नेपालीको महान् पर्व बडादशैंका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौं इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दशैंको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दशैं उनीहरूले मनाएका हुन्।
नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादशैंको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको छ। पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन्।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।
ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादशैंले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।
कात्तिक ४, २०८३ बुधबार १४:०६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।