काम गरेको ज्याला नपाएर दशैंमा अलपत्र मजदुरलाई नगरपालिकाले दियो दशैँ खाद्यान्न
धादिङ : दशैमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।
चाडबाडको समयमा खाद्य संकट झेलिरहेका मजदुरहरूलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो।
नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका ती मजदुरहरूले विगत ५–६ महिनादेखि ज्याला पाएका थिएनन्। पैसा नहुँदा घर जाने गाडीभाडा समेत जुटाउन नसकेपछि उनीहरू कार्यस्थलमै रोकिन बाध्य भएका थिए।
३६ जनाको टोलीमध्ये २४ जनाले साथीभाइसँग ऋण काढेर र घरबाट पैसा मगाएर दशैं मनाउन घर फर्किए पनि आर्थिक अभावका कारण सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर धादिङमै अलपत्र छन्।
आफ्नै नगरभित्र श्रम गरिरहेका मजदुरहरू चाडबाडका बेला भोकै बस्नुपर्ने अवस्था आएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए।
नगरपालिकाको सहयोगले दशैंको समयमा छाक टार्ने चिन्ता हटे पनि मजदुरहरूले ६ महिनादेखि रोकिएको आफ्नो ज्याला भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका छन्। सल्यानका अम्मर कार्कीले भन्छन्-"हाम्रो ज्याला दिलाइदिएर हामीलाई घर पठाइदिनुहोस्।"
कात्तिक ४, २०८३ बुधबार १२:३४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।