निराशाबाट आशा, विभेदबाट सद्भावतर्फ अघि बढ्न शीर्ष नेताको दशैं सन्देश

निराशाबाट आशा, विभेदबाट सद्भावतर्फ अघि बढ्न शीर्ष नेताको दशैं सन्देश

काठमाडौं : दशैंको अवसरमा प्रधानमन्त्रीसहित प्रमुख दलका नेतृत्वले राजनीतिक व्यथिति र कुशासन अन्त्य गर्न, सामाजिक सद्भाव बलियो बनाउन तथा विपत्तिमा परेका नागरिकलाई सहारा दिन आह्वान गरेका छन्।

विजयादशमीको सन्दर्भ पारेर प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जारी गरेको सन्देशमा चाडपर्वलाई परम्परामा मात्र सीमित नराखी राजनीतिक सुधार, नागरिकप्रतिको उत्तरदायित्व र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री वालेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिक वृत्तमा देखिएका विचलन सच्याउनुपर्ने आवश्यकता औँल्याए। देशमा विद्यमान आसुरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ।”

इमान्दार प्रयास र सामूहिक मेहनतबाट मात्र यस्ता विकृति हट्ने उल्लेख गर्दै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न आग्रह गरे। साथै, भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधतायुक्त समाजमा अहंकार, हिंसा र विभेद त्यागेर सामाजिक एकता कायम राख्न उनले आह्वान गरे।

रास्वपाका सभापति लामिछानेले दशैंले व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुन प्रेरित गरोस् भनी कामना गरे। दशैंले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे। लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादशैंले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे।

कांग्रेसका सभापति थापाले दशैंले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना दिए। उनले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने मानवीय संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउँदै वर्तमान संकटको समाधानतिर लाग्न आग्रह गरे।

“हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौं, आफ्नो खुसी बाँड्न सकौँ र एक अर्काको सहारा बन्न सकौं,” थापाले सन्देशमा भनेका छन्। 

कात्तिक ४, २०८३ बुधबार १०:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।