वर्षमा एक दिन खुल्ने तलेजु भवानीको मन्दिरमा महानवमीका दिन दर्शनार्थीको घुइँचो

वर्षमा एक दिन खुल्ने तलेजु भवानीको मन्दिरमा महानवमीका दिन दर्शनार्थीको घुइँचो

भक्तपुर : बडादशैंको महानवमीका अवसरमा आज काठमाडौं उपत्यकाको ऐतिहासिक तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न हजारौँ भक्तजन पुगेका छन्। मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन्। विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। मन्दिर खुला हुनुअघि नै दर्शनका लागि हजारौँ भक्तजनहरू लाइनमा बसिसकेका थिए।

महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो।

किंवदन्तीअनुसार सत्रौँ शताब्दीमा काठमाडौंका राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग पासा (त्रिपाशा) खेल्ने गर्दथे। खेलका क्रममा राजाले कुदृष्टि लगाएपछि रुष्ट बनेकी भवानी मन्दिरबाट अलप भएको जनविश्वास छ। पछि राजाले पश्चात्ताप गर्दै क्षमायाचना गरेपछि भवानीले वर्षको एक पटक मात्र दर्शन दिने वचन दिएको किंवदन्ती छ। 

यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन्।

कात्तिक ३, २०८३ मंगलबार १३:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।