देशका अधिकांश भू-भागमा मौसम सफा रहने
काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। देशका बाँकी भू-भागको मौसम सफा रहेको छ।
मङ्गलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यसैगरी, मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली कायमै रहनेछ भने गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम सफा रहने र तराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
कात्तिक ३, २०८३ मंगलबार ०७:१४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।