सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते

सुर्खेत : कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको फोर्स गाडी सुर्खेतको पञ्चपुरीमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

मंगलवार बिहान करिब १०:३० बजे पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्।

प्रहरीका अनुसार जीवनकला बयकको टाउको र हातमा चोट लागेको छ। हेमन्त तिमल्सिनाको पनि टाउको र हातमा चोट लागेको छ भने गोपाल बोगटीको टाउको र हातमा चोट लागेको छ। उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते तिमल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ।

यस्तै, सामान्य घाइते भएकाहरूमा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा, सोही ठाउँकी २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, अछामको विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी रहेका छन्।

प्रहरीका अनुसार समिर बादीको टाउको र हातमा चोट लागेको छ। बिर्ख टमटाको हातमा, शारदा टमटाको टाउकोमा, निरज भण्डारीको हातमा, धिराज विकको हातमा र शान्ति भण्डारीको टाउकोमा चोट लागेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनापछि अछामको विनायकका करिब ३५ वर्षीय चालक विष्णु शाही भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कात्तिक ३, २०८३ मंगलबार १३:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।