निर्वाचन कार्यालयले सूचीबाट हटायो तीन हजार बढी मतदाताको नाम
चितवन : मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ। दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरूको नामावली हटाइएको हो।
यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो। आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरूको नाम हटाइएको हो। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको हो।
मृत्यु भएकाहरूको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता परित्याग गर्नेहरूको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उनले बताए।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए। फागुन २१ गतेको मतदानपछि १३ हजार १३४ जना मतदाता थपिएका छन्।
कात्तिक ३, २०८३ मंगलबार १०:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।