अमेरिकी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निष्पक्ष अनुसन्धानको माग
एजेन्सी : अमेरिकी आप्रवासी हिरासत केन्द्रमा थप एक मेक्सिकन नागरिकको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता (जनवरी २०२५ पछि) अमेरिकी हिरासतमा ज्यान गुमाउने मेक्सिकन नागरिकको सङ्ख्या १८ पुगेको छ।
आफ्ना नागरिकको शृङ्खलाबद्ध मृत्युप्रति मेक्सिको सरकारले गहिरो चिन्ता व्यक्त गर्दै घटनाको कडा निन्दा गरेको छ।
मेक्सिकोको विदेश मन्त्रालयका अनुसार पछिल्लो मृत्यु अमेरिका-मेक्सिको सीमावर्ती सहर लारेडो (टेक्सास) स्थित आप्रवासी प्रशोधन केन्द्रमा भएको हो।
मृतकको नाम र पहिचान खुलाइएको छैन, यद्यपि उनका परिवारसँग सम्पर्क भइसकेको मन्त्रालयले जनाएको छ। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले भने यसबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
मेक्सिकोले घटनाको तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न तथा दोषीमाथि जवाफदेहिता सुनिश्चित गर्न अमेरिकी प्रशासनसँग माग गरेको छ। मन्त्रालयले यो घटनालाई लिएर पनि अमेरिकी अधिकारीसमक्ष औपचारिक उजुरी दर्ता गराउने तयारी गरेको छ।
यसअघि आईसीईको नियन्त्रणमा १७ जना नागरिकको मृत्यु भएको घटनालाई लिएर मेक्सिकोले गत जुलाईमै अमेरिकी अदालतमा फौजदारी उजुरी दर्ता गराइसकेको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी प्रतिबद्धताअनुसार अमेरिकी इतिहासकै सबैभन्दा ठूलो ‘सामूहिक निर्वासन अभियान’ सुरु गरेपछि देशभर आप्रवासीहरूलाई तीव्र रूपमा पक्राउ गरी हिरासतमा राख्ने क्रम बढेको छ।
गत वर्ष मात्रै अमेरिकी आप्रवासी हिरासत केन्द्रहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। सन् २००४ मा आईसीई स्थापना भएयता यो संख्या कुनै पनि एक वर्षमा हिरासतभित्र भएको अहिलेसम्मकै उच्च मृत्युदर हो।
कात्तिक २, २०८३ सोमबार २२:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।