न्युजिल्यान्डमा कोकिन तस्करीमा नेपाली युवकलाई साढे ५ वर्ष जेल, सजाय भुक्तानपछि देश निकाला गरिने
एजेन्सी : विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका एक नेपाली युवक कोकिन तस्करीमा दोषी ठहर भएका छन्। आर्थिक सङ्कटमा परेपछि कोकिन तस्करीमा संलग्न भएको अदालतले नै पुष्टि गरेको छ।
२७ वर्षीय अनुराग मास्के मे २०१८ मा १९ वर्षको उमेरमा विद्यार्थीका रूपमा न्युजिल्यान्ड पुगेका थिए। उनले त्यहाँ सूचना प्रविधिमा डिप्लोमा पूरा गरेका थिए। तर, आफ्नो क्षेत्रमा काम खोज्ने क्रममा उनले दक्ष काम नपाएपछि सामान्य मजदुरीका कामहरू गर्न बाध्य भए।
केही समयमै उनी गम्भीर आर्थिक समस्यामा परेका थिए र उनले सुरु गर्न खोजेको आफ्नै व्यवसाय पनि असफल भइरहेको थियो। त्यही कठिन परिस्थितिमा उनलाई एक अर्का नेपाली पुरुषले "उद्धारक" का रूपमा आर्थिक सहयोगको प्रस्ताव राखे।
हालै सार्वजनिक भएको पुनरावेदन अदालतको फैसला अनुसार, ती व्यक्तिले मास्केलाई गरेको आर्थिक सहयोग उनलाई लागुऔषध तस्करीको धन्दामा प्रयोग गर्ने र फसाउने योजना थियो। त्यस समयमा मास्के अक्सनल्यान्डको माउन्ट एडनमा बसोबास गर्दै आएका थिए।
कसरी हुन्थ्यो कोकिन तस्करी?
जनवरी देखि जुलाई २०२२ को बिचमा मास्केले १.५७६ किलोग्राम कोकिन आयात/तस्करी गर्न मद्दत गरेका थिए। मुख्यतया बेलायत र नेपालका एक आपूर्तिकर्तामार्फत आएका कोकिन भरिएका ६ वटा पार्सल उनले लिएका थिए।
लागुऔषध लुकाउनका लागि मेसिनरीका पार्टपुर्जा, मोटरसाइकलको शॉक एब्जोर्बर, काठका नमुना, मेलामाइन भेनियर र व्यावसायिक क्याटलगहरूको प्रयोग गरिएको थियो। एक पटक त सामानभित्र लुकाइएको कोकिन निकाल्न मास्केले सामान काट्ने मेसिनसम्म प्रयोग गरेका थिए।
सुरुमा लागुऔषधका पार्सल सङ्कलन गर्ने तल्लो स्तरको भूमिकामा रहेका मास्के, अप्रिल २०२२ मा उनका मुख्य योजनाकारले न्युजिल्यान्ड छाडेपछि मुख्य आयोजकको भूमिकामा पुगेका थिए। पक्राउ पर्ने समयसम्ममा उनले पार्सलहरूको व्यवस्थापन गर्ने, सामानबाट कोकिन निकाल्ने, कोकिनको शुद्धता परीक्षण गर्ने र बिक्री गर्नुअघि त्यसमा अन्य पदार्थ कति मिसाउने भन्ने विषयमा छलफल गर्ने तहसम्मको काम सम्हाल्दै आएका थिए।
प्रहरी छापा र अदालतको फैसला
प्रहरीले मास्केको घरमा छापा मार्दा जिपलोक ब्यागमा राखिएको २१९ ग्राम कोकिन, सेतो धुलोको अवशेष रहेका अन्य झोलाहरू र इलेक्ट्रोनिक तराजु बरामद गरेको थियो। साथै, उनको फोनबाट नेपालमा रहेका सप्लायरसँग लागुऔषध आयातबारे भएका कुराकानी, पार्सल र सामानका तस्बिरहरू, शुद्धता जाँच्ने किट, र ट्र्याकिङ नम्बरहरू जस्ता प्रमाणहरू फेला परेका थिए। तर नेपालका तस्कर को थिए भन्ने खुलेको छैन।
मास्केले कोकिन आयातका ५ वटा मुद्दामा आफ्नो दोष स्वीकार गरेका थिए। गत वर्षको मार्चमा अकल्यान्ड जिल्ला अदालतले उनलाई ६ वर्ष ४ महिनाको जेल सजाय सुनाएको थियो।
उक्त सजायविरुद्ध उनले पुनरावेदन दिएका थिए। 'कोर्ट अफ अपिल' ले मास्केको उमेर र उनलाई पारिएको परिस्थितिलाई ध्यानमा राख्दै सजायमा केही छुट पाउनुपर्ने ठहर गरेको छ। मुख्य योजनाकारलाई भेट्दा मास्के भर्खर २२ वर्षका युवा थिए। उनको सङ्घर्षरत व्यवसाय र आर्थिक कमजोरीको फाइदा उठाएर उनलाई यो धन्दामा प्रयोग गरिएको अदालतको निष्कर्ष छ।
पुनरावेदन अदालतले मास्केको जेल सजाय घटाएर ५ वर्ष ७ महिना कायम गरेको छ। सजाय भुक्तान गरेपछि उनलाई न्युजिल्यान्डबाट नेपाल फिर्ता गरिनेछ।
कात्तिक १, २०८३ आइतबार २२:२२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।