चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन, भने - कठिन समयमा नझुक्ने महान् योद्धा प्रधानमन्त्री

चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन, भने - कठिन समयमा नझुक्ने महान् योद्धा प्रधानमन्त्री

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पूर्ण समर्थन गरेका छन्।

निर्वाचनको एक हप्ताभन्दा कम समय बाँकी छँदा ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्पष्ट र पूर्ण समर्थन गरेका हुन्। उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत नेतान्याहुलाई ‘महान् योद्धा प्रधानमन्त्री’ भन्दै उनको नेतृत्वको प्रशंसा गरेका छन्। उनले नेतान्याहु कठिन परिस्थितिमा पनि दृढ रहेको उल्लेख गर्दै इजरायलका जनतासमक्ष उनलाई पुनः प्रधानमन्त्री निर्वाचित गर्न समर्थन गरेका हुन्।

ट्रम्पले लेखेका छन्, “बेन्जामिन नेतान्याहु बलियो, साहसी र दूरदर्शी नेता हुन्। उनले अत्यन्त कठिन परिस्थितिमा पनि आफ्नो क्षमता प्रमाणित गरेका छन्।”

उनले इजरायल र अमेरिकाबीचको सहकार्यलाई निरन्तरता दिन नेतान्याहुको नेतृत्व महत्त्वपूर्ण रहेको संकेतसमेत गरेका छन्।

ट्रम्पले आफ्नो पोष्टमा इरानसँगको युद्धलाई पनि उल्लेख गरेका छन्। अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि सुरु गरेको सैन्य कारबाहीलाई अन्तिम चरणसम्म पुर्याउने संकेत दिँदै उनले इरानले आफ्नो व्यवहार छिटो परिवर्तन नगरे युद्ध पुनः तीव्र हुन सक्ने चेतावनी दिएका छन्।

इरानसँगको युद्धका कारण विश्व ऊर्जा बजार प्रभावित भएको छ भने मध्यपूर्वका विभिन्न क्षेत्रमा पूर्वाधारमा क्षति र आर्थिक अस्थिरता बढेको छ। अमेरिकाभित्र पनि उक्त युद्धप्रति असन्तुष्टि देखिएको छ।

नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै उनलाई आफ्नो ‘प्रिय मित्र’ बताएका छन्। उनले अमेरिका र इजरायल मिलेर आफ्नो अभियान पूरा गर्ने बताएका छन्। नेतान्याहुले इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए। 

इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए। तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए। इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेदसमेत देखिएको थियो। 

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ। उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताएका छन्।

करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन्। यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेशमन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। 

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्किएका थिए। न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उनी विवादमा पर्दै आएका छन्। चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताएका छन्। 

कात्तिक २, २०८३ सोमबार १५:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।