मुम्बईमा अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार, चालक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार, चालक घाइते

एजेन्सी : बलिउड अभिनेता टाइगर श्रफको कारलाई लक्षित गरी मुम्बईमा आइतबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। यो घटनामा अभिनेताका चालकसहित दुईजना घाइते भएका छन्। घटनामा टाइगर भने सकुशल छन्।

बिबिसीहिन्दीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू प्रहरी थाना क्षेत्रमा यो घटना भएको हो। मुम्बईको वेस्ट जोन-२ का प्रहरी उपायुक्त (डीसीपी) मोहित गर्गले टाइगर श्रफ़ चढेको गाडीमा गोली चलेको पुष्टि गरे।

प्रहरीका अनुसार घाइते भएका दुई जनामध्ये टाइगर श्रफका चालक फिरदौस पनि छन्। उनको बायाँ हातमा गोली लागेको छ। घटनाबारे जानकारी दिँदै डीसीपी मोहित गर्गले टाइगर पूर्ण रूपमा सुरक्षित रहेको र उनलाई कुनै गोली नलागेको बताए।

उनका अनुसार बेलुका करिब ७ बजेतिर गोली चलेको थियो। प्रारम्भिक जानकारी अनुसार उनी कुनै निजी कामले गएका थिए र काम सकेर फर्किने क्रममा यो घटना घटेको हो।

मुम्बई प्रहरीले हमलावरहरूको पहिचान गर्न र उनीहरूको भाग्ने बाटो पत्ता लगाउन आसपासका क्षेत्रहरूको सिसिटिभी  फुटेज संकलन र अनुसन्धान सुरु गरेका छन्। फरेन्सिक टोलीले पनि प्रारम्भिक अनुसन्धान सुरु गरेको र यो घटनामा करिब १५ वटा प्रहरी टोलीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। उनीमाथि भएको आक्रमणको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ। तर प्रहरीले एकिन गरेको छैन।

कात्तिक १, २०८३ आइतबार २२:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।