फ्रान्समा साढे ५ लाख नागरिक सडकमा, विरोध र हिंसात्मक झडपपछि शहरहरू अस्तव्यस्त, व्यापक तोडफोड र लुटपाट

फ्रान्समा साढे ५ लाख नागरिक सडकमा, विरोध र हिंसात्मक झडपपछि शहरहरू अस्तव्यस्त, व्यापक तोडफोड र लुटपाट

एजेन्सी : इन्धनको मूल्यवृद्धि, जीवनयापनको उच्च लागत र खस्कँदो सार्वजनिक सेवाविरुद्ध फ्रान्समा सुरु भएको प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिसहरू प्रदर्शनमा उत्रिए। अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही समूह हिंसामा उत्रिएपछि प्रहरीले करिब १,८०० जनालाई नियन्त्रणमा लिएको छ।

प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सका विभिन्न शहरहरू अस्तव्यस्त भए। राजधानी पेरिससहित मुख्य सहरहरूका सडकमा जलेका कारहरू, फुटेका काँचका टुक्राहरू र भग्नावशेषहरू यत्रतत्र छरिएका छन्।

प्रदर्शनकोक्रममा लियोन शहरको ऐतिहासिक पर्यटकीय कार्यालयमा आगजनी भएको छ भने लिमोज शहरको १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाइँदा भवनको केही भाग भत्किएको छ। सेन्ट-इटिएन शहरमा एक युवाले विस्फोटक पदार्थ चलाउँदा हात गुमाउनुपरेको स्थानीय मेयरले जानकारी दिएका छन्। घाइतेको संख्या बढीरहेको छ। तर मानवीय क्षती भएको छैन।

व्यापक हिंसा र तोडफोड

पेरिस, मार्से, लिल लगायतका शहरहरूमा कालो पोसाक र नकाब लगाएका प्रदर्शनकारीहरुले सडकमा रहेका गाडी तथा भवनहरूमा आगजनी गरेका छन्। पेरिसमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबिच झडप हुँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

शहरका विभिन्न पसल तथा सुपरमार्केटहरूमा व्यापक लुटपाट भएको छ। पेरिसको 'प्लेस दे ला रिपब्लिक' नजिकै रहेका गुच्ची, भर्साचे  र राल्फ लोरेन  जस्ता महँगा ब्रान्डका शोरुमहरूका सिसा फुटाइएको छ भने बेकरी र वाइन शपहरू पूर्ण रूपमा लुटिएका छन्।

हिंसात्मक झडपका क्रममा ५०० भन्दा बढी प्रहरी, सैनिक प्रहरी र दमकलकर्मी घाइते भएका छन्। खुद्रा तथा व्यापार महासङ्घका अनुसार देशभरिका करिब १,५०० वटा पसल तथा खुद्रा व्यवसायीका शोरुमहरूमा क्षति पुगेको छ।

स्थानीयवासी र व्यवसायीको प्रतिक्रिया

पेरिसका स्थानीय बासिन्दाहरूले स्थिति 'युद्धभूमि जस्तै' र 'भयावह' भएको प्रतिक्रिया दिएका छन्। एक लुगा पसलका मालिकका अनुसार नकाबधारी समूहले डेढ घण्टासम्म पसलमा लुटपाट गर्दा पनि प्रहरी समयमा पुग्न सकेको थिएन। व्यवसायीहरूका अनुसार वास्तविक प्रदर्शनकारीभन्दा पनि सडकको अराजकताको फाइदा उठाउने समूहहरूले लुटपाट मच्चाएका हुन्।

प्रदर्शनकारीहरूले विभिन्न पसलका भित्ताहरूमा "धनीहरूलाई कर लगाऊ" जस्ता नाराहरू लेखेका छन्। आइतबार बिहानैदेखि पसल सञ्चालकहरू सिसाका टुक्रा सोहोरिन र सडक सफा गर्न व्यस्त देखिएका थिए।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि "उग्र-वामपन्थी तत्वहरू" र उपद्रवीहरूले नियतवश सार्वजनिक सम्पत्ति र प्रहरीमाथि आक्रमण गरेको बताएका छन्। उनले प्रदर्शनको आडमा आपराधिक मानसिकता भएका व्यक्तिहरूले व्यापारिक प्रतिष्ठानहरूमा लुटपाट र तोडफोड मच्चाएको आरोप लगाए।

पछिल्लो केही सातादेखि फ्रान्समा विद्यालयहरूमा लगानी वृद्धि, शिक्षक तथा कर्मचारीको अभाव अन्त्य र भौतिक पूर्वाधार सुधारको माग राख्दै विद्यार्थी तथा सर्वसाधारणहरू निरन्तर आन्दोलनमा छन्।

कात्तिक १, २०८३ आइतबार २१:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।