महँगीविरुद्ध फ्रान्समा हिंसात्मक प्रदर्शन : दुई विश्वयुद्धमा जोगिएको लिमोज टाउन भवन प्रदर्शनकारीको आगजनीबाट ध्वस्त, १८ सय बढी नियन्त्रणमा

महँगीविरुद्ध फ्रान्समा हिंसात्मक प्रदर्शन : दुई विश्वयुद्धमा जोगिएको लिमोज टाउन भवन प्रदर्शनकारीको आगजनीबाट ध्वस्त, १८ सय बढी नियन्त्रणमा

एजेन्सी : बढ्दो महँगीको विरोधमा फ्रान्सका प्रमुख सहरहरूमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारी र प्रहरीबिच शनिवार भएको झडप, व्यापक लुटपाट र शृङ्खलाबद्ध आगजनीले मुलुकभरका सहर प्रभावित भएका छन्।  

हिंसात्मक प्रदर्शनका क्रममा फ्रान्सको लिमोज सहरमा रहेको १४० वर्षभन्दा पुरानो ऐतिहासिक टाउन हल (नगरपालिका भवन) प्रदर्शनकारीको आगजनीबाट अधिकांश भाग ध्वस्त भएको छ।  मुख छोपेका प्रदर्शनकारीहरू भवनभित्र जबर्जस्ती प्रवेश गरी आगो लगाएको उक्त क्षेत्रका एक उच्च अधिकारीले बताए। उक्त भवनले दुईवटा विश्वयुद्ध समेत झेलेको थियो।

हप्ताौँदेखि चलिरहेको विद्यार्थी आन्दोलन र त्यसपछि चर्किएको यो हिंसाले राष्ट्रपतिको निर्वाचन आउन ६ महिना मात्र बाँकी रहँदा फ्रान्समा गम्भीर राजनीतिक अनिश्चितता थपिदिएको छ।

पेरिसका मेयर इमानुएल ग्रेगोइरले राजधानीका सिङ्गो सडकहरू ध्वस्त पारिएको बताएका छन्। नकावधारी युवाहरूको समूहले सडकमा पार्क गरिएका गाडीहरूमा आगो लगाउनुका साथै थुप्रै पसलहरू तोडफोड गरी लुटपाट गरेका छन्।

फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले शनिबार राति दिएको जानकारीअनुसार घटनामा एक हजार ८०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्।

प्रधानमन्त्री लेकोर्नुले यसअघि हिंसालाई 'अत्यधिक तीव्र हिंसात्मक' प्रकृतिको भन्दै निन्दा गरेका थिए।

गृह मन्त्रालयका अनुसार राजधानी लगायत अन्य सहरहरूमा महँगीको विरोधमा निकालिएको प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी थिए। यद्यपि आन्दोलनमा सहभागी 'सीजीटी' युनियनले भने प्रदर्शनमा ८ लाख मानिस सडकमा उत्रिएको दाबी गरेको छ।

प्रदर्शनकारीहरूले ढुङ्गामुढा गर्नुका साथै आतसबाजी (पटका) प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। देशको दक्षिणी सहर सेन्ट-एटियन (Saint-Etienne) मा भीड नियन्त्रणका लागि प्रहार गरिएको ग्रिनेड विस्फोट हुँदा १७ वर्षीय एक किशोरको दाहिने हात चुँडिएको छ।

धेरै सहरहरूमा लुटपाट र तोडफोड

प्रदर्शनका क्रममा र त्यसपछि युवाहरूका समूह सडकमा घुम्दै प्रहरीसँग झडपमा उत्रिएका थिए। उनीहरूले पसलका सटरहरू फुटाएर सामानहरू लुटेका छन्।

पेरिस, मार्से, निस, नान्तेस, बोर्डो, लिमोज, लिल, तुलुज र स्ट्रासबर्गका सुपरमार्केट, फार्मेसी, लक्जरी बुटिक, कपडा पसल, चश्मा पसल, कस्मेटिक र इलेक्ट्रोनिक्स पसलहरूमा व्यापक लुटपाट भएको छ।

पेरिसमा आधा दर्जन जति युवाहरू संगठित रूपमा पसलहरूमाथि जाइलागेका थिए। मकुण्डो र पन्जा लगाएका उनीहरूले पहिले सुरक्षा क्यामेराको सम्पर्क काटेर सिसा फुटाउँदै भित्र पसेर सामानहरू लुटेका थिए।

लुटपाटका साथै देशका अन्य सहरमा पनि सार्वजनिक प्रशासनिक भवनहरू निशानामा परेका छन्। मार्सेई र लिलका नगर भवनमा प्रदर्शनकारीहरू प्रवेश गरी तोडफोड गरेका छन्। बोर्डोमा प्रहरी परिसरमा तोडफोड गरिएको छ भने लियोनमा प्रदर्शनकारीहरूले पर्यटक सूचना केन्द्रमा आगो लगाएका छन्।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सम्पत्ति र निजी व्यवसायमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, “तोडफोड गर्ने, प्रशासनिक कार्यालय वा व्यवसायमाथि आक्रमण गर्ने अथवा लुटपाट गर्नेहरू—हाम्रा नगर भवनहरूमै यस्तो गर्नेहरूलाई समेत—अभियोजन गरिनेछ र सजाय दिइनेछ।”

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा विपक्षी नेताहरूले यो अराजकतालाई राजनीतिक मुद्दा बनाएका छन्।

अत्यधिक दक्षिणपन्थी उम्मेदवार मरीन ले पेनले उपद्रवीहरूको भर्त्सना गर्दै आफ्ना सुदूर-वामपन्थी प्रतिद्वन्द्वी जो-लुुक मेलेन्चोनको पार्टीले 'हिंसालाई वैधानिकता दिएको' आरोप लगाएकी छन्।

उनले 'एक्स' मा लेखेकी छन्, "यदि म सत्तामा आएँ भने फ्रान्सेली जनतालाई सुदूर-वामपन्थीहरूको हिंसाबाट सुरक्षा दिनेछु।"

प्रदर्शन र विद्यार्थी आन्दोलनलाई खुलेर समर्थन गर्दै आएका मेलेन्चोनले भने प्रदर्शनकारीहरूलाई लुटपाटबाट टाढा रहन आग्रह गर्दै त्यसलाई "हाम्रो कार्यशैली विपरीत" भनेका छन्।

‘पहेंलो ज्याकेट’ आन्दोलनको आह्वान

आठ वर्षअघि इन्धनको कर वृद्धिको विरोधमा म्याक्रोन सरकारविरुद्ध सडकमा उत्रिएको फ्रान्सको 'येलो भेस्ट' आन्दोलनले नै शनिवारको 'पहेंलो र युवा' प्रदर्शनको आह्वान गरेको थियो।

प्रदर्शनको मुख्य विषयवस्तु महँगी थियो, जुन मध्यपूर्वको युद्धका कारण युरोपभरि मूल्यवृद्धि भएसँगै थप चर्किएको हो। तर, प्रदर्शनकारीहरूको असन्तुष्टि महँगीमा मात्रै सीमित छैन। उनीहरूले राजनीतिक नेतृत्व, आर्थिक असमानता र आगामी निर्वाचनलाई समेत विरोधको विषय बनाएका छन्।

पेरिसमा हजारौँ मानिसले सहरको पूर्वी र उत्तरी भाग हुँदै जुलुस निकालेका थिए। प्रदर्शनकारीहरूले “सबैले प्रहरीलाई घृणा गर्छन्” र “म्याक्रों, राजीनामा देऊ” जस्ता नारा लगाएका थिए।

विरोधमा उत्रिएका १८ वर्षीय उच्च माध्यमिक विद्यालयका विद्यार्थी कामिल अलाह्यानले आफू विभिन्न कारणले प्रदर्शनमा सहभागी भएको बताएका छन्।

उनले भने, “म धेरै कारणले प्रदर्शन गरिरहेको छु—सन् २०२७ मा आउँदै गरेको निर्वाचन, झूट बोल्ने राजनीतिज्ञहरू र पछिल्ला १० वर्षदेखि झन् धेरै सम्पत्ति आफ्नो हातमा थुपार्दै आएका अति धनी मानिसहरूका कारण म सडकमा आएको हुँ।”

केही प्रदर्शनकारीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग अहिलेको आन्दोलनको तुलना गरेका थिए। दक्षिणी सहर मार्सेईमा मेयरको कार्यालयमा जबर्जस्ती प्रवेश गर्ने क्रममा केही प्रदर्शनकारीले “यो क्रान्ति हो—हामी बास्तिल कब्जा गर्दैछौँ!” भन्ने नारा लगाएका थिए।

बास्तिल किल्लामाथि भएको आक्रमण फ्रान्सेली क्रान्तिको ऐतिहासिक घटनामध्ये एक हो। पश्चिमी सहर ला रोसेलमा प्रदर्शनकारीहरूले 'क्रान्ति कि मृत्यु' लेखिएको ब्यानर बोकेका थिए।

दक्षिणी सहर मोन्टपेलियरको एक केन्द्रीय चोकमाथि 'जनताको जित हुनेछ' लेखिएको विशाल नीलो ब्यानर फहराइएको थियो।

पेरिसमा पत्रकारहरूसँग कुरा गर्दै उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रतिनिधि संस्था एलएसयूका प्रमुख रियाद रानीले सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

रानीले भने, "सरकार काँपिरहेको छ र काँप्नु स्वाभाविक पनि हो, किनभने जब फ्रान्सेली जनता क्रुद्ध हुन्छन्, उनीहरू कहिल्यै पछाडि हट्दैनन्।"

(एएफपीमा प्रकाशित समाचारबाट तयार पारिएको)

कात्तिक १, २०८३ आइतबार १५:५४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।