एनपीएल तेस्रो संस्करण : विराटनगरमा आन्द्रे रसेल र पोखरामा चामिका करुणारत्ने अनुबन्ध
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीहरूबीच विश्व क्रिकेटका चर्चित खेलाडी भित्र्याउने होड चलेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी-२० प्रतियोगिताको मान्यता पाएसँगै आइतबार फ्रेन्चाइज टोलीहरूले ठूला विदेशी खेलाडी अनुबन्धको घोषणा गरेका छन्।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले विश्व क्रिकेटकै सर्वाधिक आक्रामक अलराउन्डर तथा वेस्ट इन्डिजका स्टार आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।
विराटनगरले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै रसेललाई टोलीमा स्वागत गरेको जानकारी दिएको हो। टोलीले लेखेको छ, ‘तपाईंहरूले माग गर्नुभयो, हामीले पूरा गर्यौँ। किङ्डममा स्वागत छ, आन्द्रे रसेल।’
रसेल सन् २०१२ र २०१६ को आईसीसी पुरुष टी-२० विश्वकप विजेता वेस्ट इन्डिज टोलीका प्रमुख सदस्य हुन्। उनले कोलकाता नाइट राइडर्स (केकेआर) बाट सन् २०१४ र २०२४ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेका छन्।
विश्वभर ६०० भन्दा बढी टी-२० खेल खेलिसकेका उनी यस विधामा ९ हजार ९०० भन्दा बढी रन र ५३० भन्दा बढी विकेट लिने कीर्तिमानी खेलाडी हुन्। वेस्ट इन्डिजका लागि उनले ८६ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १२२ रन र ६१ विकेट लिएका छन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा रसेलको आगमनले टोलीको ब्याटिङ र तीव्र गतिको बलिङ निकै मजबुत हुने अपेक्षा गरिएको छ।
यसैगरी, आइतबार पोखरा एभेन्जर्सले श्रीलंकाका तीव्र गतिका बलिङ अलराउन्डर चामिका करुणारत्नेलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। ३० वर्षीय करुणारत्नेले श्रीलंकाका लागि १ टेस्ट, २६ एकदिवसीय र ४६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
समग्र टी-२० करियरमा १०० भन्दा बढी विकेट लिइसकेका उनीसँग लंका प्रिमियर लिग (एलपीएल) तथा आईपीएलमा कोलकाता नाइट राइडर्सको हिस्सा बनेको अनुभव छ।
पोखराले यसअघि नै बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसन, श्रीलंकाकै धनञ्जय लक्षण तथा मुख्य प्रशिक्षकमा अजन्था मेन्डिसलाई अनुबन्ध गरिसकेको छ। करुणारत्नेको आगमनसँगै पोखराको टोली थप सन्तुलित बनेको छ।
आईसीसीको मान्यतापछि उत्साह, नेपाल टेलिकमसँग प्रायोजन सम्झौता
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ (अक्टोबर २५/२६) देखि मंसिर ५ (नोभेम्बर २१) गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
केही दिनअघि मात्रै आईसीसीले एनपीएललाई आधिकारिक टी-२० प्रतियोगिताको मान्यता दिँदै विदेशी खेलाडी अनुबन्धको दायरा फराकिलो बनाएपछि टोलीहरूले डेविड वार्नर, शाकिब अल हसन, सिकन्दर राजा, जिमी निसम र अहिले आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीहरूलाई धमाधम अनुबन्ध गरिरहेका छन्।
यसैबीच, आइतबार नै नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टेलिकमबीच एनपीएलको तेस्रो संस्करणका लागि व्यावसायिक सहकार्य तथा प्रायोजनसम्बन्धी औपचारिक सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ।
कात्तिक १, २०८३ आइतबार २०:२६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।