क्यानडासँग २४ रनले पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा रहन अन्तिम खेल जित्नैपर्ने

क्यानडासँग २४ रनले पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा रहन अन्तिम खेल जित्नैपर्ने

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ।

जितका लागि पाएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २३२ रन मात्र बनाउन सक्यो।

यो हारसँगै नेपाल तालिकाको सातौं स्थानमा झरेको छ। आफ्ना सबै ३६ खेल खेलिसकेको क्यानडा भने २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।

३५ खेलबाट २८ अंक रहेको नेपालले अब शीर्ष ६ भित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता कायमै राख्न आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई अनिवार्य पराजित गर्नुपर्ने दबाब सिर्जना भएको छ।

यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपालले २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न भने अब प्लेअफको बाटो रोज्नुपर्नेछ।

अर्जुनको संघर्ष खेर, ४६औं ओभरमा ढल्यो नेपाल
अल अमरेत क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको नेपालका लागि युवा ओपनर अर्जुन कुमालले सानदार ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

ओडिआई करियरको पहिलो शतकबाट १३ रनले चुकेका अर्जुनले ११२ बलमा ४ चौका प्रहार गर्दै ८७ रनको धैर्यपूर्ण इनिङ्स खेले।

नेपालले ३७ रनमा पहिलो विकेटका रूपमा आसिफ शेख (२०) लाई गुमाएको थियो। त्यसपछि इशान पाण्डे (२१), कप्तान रोहित पौडेल (१८) र बसिर अहमद (६) सस्तैमा आउट भए।

दीपेन्द्र सिंह ऐरीले २७ रन जोड्दै अर्जुनसँग पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरे। ४१औं ओभरमा अर्जुन आउट भएपछि नेपाल दबाबमा आयो।

तल्लो क्रममा गुल्शन झाले २१ र करण केसीले अविजित १७ रन बनाउँदै आस जगाएका थिए।

तर ४६औं ओभरमा खेलले अप्रत्यासित मोड लियो। शिल पटेलले नन्दन यादव (०) र ललित राजवंशी (०) लाई आउट गर्दा कप्तान सन्दीप लामिछाने (१) रनआउट भएपछि नेपाल २४ बल अगावै समेटियो।

क्यानडाका सुखजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले २-२ विकेट लिए।

सम्राको शतक, क्यानडाका सबै १० विकेट स्पिनरको नाममा
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले ओपनर युवराज सम्राको शतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।

‘प्लेयर अफ द म्याच’ सम्राले ११७ बल खेल्दै ११ चौका र ४ छक्काको सहयोगमा १०५ रन बनाए। उनले अर्का ओपनर आरोन जोन्सन (३६) सँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए।

त्यस्तै हर्ष ठाकरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे।

नेपालका लागि सबै १० विकेट स्पिनरहरूले हात पारे। ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा २ मेडनसहित ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै सन्दीप लामिछानेले ३, दीपेन्द्र सिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए।

असोज ३१, २०८३ शनिबार १९:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।