क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

काठमाडौं : ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो।

क्यानडाका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले। उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो।

आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए।

आजको खेलमा जित दर्ता गर्न सके नेपालले विश्वकप लिग–२ तालिकाको शीर्ष छमा स्थान सुरक्षित गर्नेछ। पराजित भएको अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ। उता क्यानडा आज जित्नैपर्ने दबाबमा छ। आजको खेलमा पराजित भएमा क्यानडाको शीर्ष छको सम्भावना समाप्त हुनेछ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ।

असोज ३१, २०८३ शनिबार १५:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।