राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले लिए सक्रिय फुटबलबाट सन्न्यास
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै औपचारिक रूपमा फुटबल यात्रालाई विश्राम दिएको घोषणा गरेका हुन्।
बुटवलको मैदानबाट सुरु भएको आफ्नो खेलयात्रालाई स्मरण गर्दै विमलले देशका लागि सधैँ मनैदेखि खेलेको र फुटबललाई नै आफ्नो सबैथोक सुम्पेको उल्लेख गरेका छन्।
“बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो। मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ,” विमलले लेखेका छन्, “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु।”'
उमेर समूहदेखि नै चम्किएका विमलले सन् २०१२ मा मात्र १४ वर्षको उमेरमा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा ऐतिहासिक डेब्यु गरेका थिए। उनी राष्ट्रिय टोलीबाट डेब्यु गर्ने नेपालकै सबैभन्दा कान्छा खेलाडीमध्ये एक हुन्। उनले राष्ट्रिय टोलीका लागि ४४ अन्तर्राष्ट्रिय खेल खेल्दै ९ गोल गरेका छन्।
विमल नेपाली फुटबलको ‘स्वर्णिम पुस्ता’का प्रमुख सदस्य मानिन्छन्। उनको नेतृत्वदायी भूमिकामा नेपालले सन् २०१५ मा घरेलु मैदानमै आयोजित साफ यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो।
त्यस्तै, नेपाली फुटबलले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्दा उनी मुख्य फरवार्ड थिए। सन् २०१६ मा नेपालले बङ्गबन्धु गोल्डकप, १२औँ दक्षिण एसियाली खेलकुद (साग) को ऐतिहासिक स्वर्ण र पहिलो संस्करणको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा विमलको प्रदर्शन निर्णायक रहेको थियो।
घरेलु फुटबलमा मच्छिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेका विमलले युरोपका नेदरल्यान्ड्स र बेल्जियमका क्लबहरूमा समेत युवा फुटबलको अनुभव बटुलेका थिए। पछिल्लो समय उनी अस्ट्रेलियामा बस्दै आएका थिए।
असोज ३१, २०८३ शनिबार २१:४३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।