अभिभावक गुमाएका बाढी प्रभावित बालबालिका एसओएस बालग्रामको संरक्षणमा, ५ वर्षको लागि सम्झौता
काठमाडौं : एसओएस बालग्राम नेपालले रसुवा, नुवाकोट क्षेत्रमा आएको भोटेकोशी बाढीबाट प्रभावित बालबालिका तथा परिवारको हेरचाह र संरक्षणलाई सुदृढ बनाउन राष्ट्रिय बाल अधिकार परिषद्सँग पाँच वर्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको उपस्थितिमा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक डा. गंगा बी. गुरुङ र बाल अधिकार परिषद्का सदस्य-सचिव दुर्गाप्रसाद चालिसेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
बाढी प्रभावित बालबालिकालाई परिवारजस्तै हेरचाह, नातेदारमार्फत हेरचाह तथा प्रत्यक्ष सहयोग, परिवार सुदृढीकरण, व्यक्तिगत आवश्यकताअनुसार दीर्घकालीन हेरचाह, मनोसामाजिक सहयोग तथा अनुगमन र बाल संरक्षण प्रणालीको सुदृढीकरण गरेर छ वटा प्रतिबद्धतालाई समावेश गरेको छ।
बिहीबार एसओएस बालग्रामले जारी गरेको विज्ञप्ति अनुसार यसमा बाढीका कारण दुवै अभिभावक गुमाएका वा अभिभावक बेपत्ता भएका ५० जना बालबालिकालाई व्यक्तिगत मूल्याङ्कन तथा स्थापित सिफारिस प्रक्रियाको पालना गरी हेरचाह गरिने उल्लेख छ।
त्यस्तै बालबालिकालाई परिवारबाट हुन नदिनको लागि परिवारभित्रै बस्न सहयोग पुर्याउन १०० जना बालबालिकालाई सहायता प्रदान गरिने बताइएको छ।
त्यसै गरी बाढीबाट प्रभावित ४०० परिवारलाई आवास, शिक्षा, स्वास्थ्य सेवा, पोषण तथा जीविकोपार्जनका लागि आवश्यकतामा आधारित सहयोग प्रदान गरिने र उपलब्ध सामाजिक सुरक्षा सेवाहरूमा पहुँच प्राप्त गर्न पनि समेत सहयोग गरिने पनि जनाइएको छ।
यसमा प्रत्येक बालबालिकाको परिस्थिति, आवश्यकता र सर्वोत्तम हितका आधारमा निर्णय लिन व्यक्तिगत हेरचाह योजना तयार गर्दै आवश्यकताअनुसार परिवारको खोजी, पारिवारिक पुनर्मिलन तथा परिवारमा पुनःएकीकरणका कार्यहरू पनि रहने छ।
बालबालिकाको लागि भनेर विशेष मनोसामाजिक परामर्शको व्यवस्था गरिने र उनीहरूको हेरचाह, संरक्षण, स्वास्थ्य, शिक्षा तथा पारिवारिक परिस्थितिको नियमित अनुगमन गरिनेमा जोड दिने पनि समझदारी भएको छ। यसको लागि सम्बन्धित सरोकारवालाहरूसँग समेत समन्वय गर्ने बताइएको छ।
सम्झौताअनुसार यसले प्रभावित बालबालिका तथा परिवारका दीर्घकालीन आवश्यकताहरूलाई सम्बोधन गर्ने र जोखिममा रहेका बालबालिकाका लागि सुरक्षित तथा दिगो हेरचाहको व्यवस्था गर्न सहयोग गर्नेछ।
चालिस जनाको क्षमता भएको ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर- १२ ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्रमा अहिले रसुवाको आमाछोदिंङमो गाउँपालिकाको हाकुवेशीका बालबालिकाले आश्रय लिइरहेका छन्।
असोज २९, २०८३ बिहीबार २१:५९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।